काठमाडौं । भारतमा बनेको सबैभन्दा ठूलो र पावरपुल इलेक्ट्रीक एसयूभी टाटा ह्यारीयर अहिले निकै चर्चामा छ । नेपाली बजारमा अहिलेसम्म आइनसकेको ह्यारीयर किन्नेको भारतमा लामो भीड देखिन्छ ।
टाटा मोटर्सका अनुसार ह्यारीयर ईभीको ‘वेटिङ पिरियड’ ७ महिनाभन्दा धेरै पुगेको छ । भारतमै उपभोक्ताको माग धान्न नसकेको ह्यारीयर भदौ ३ गतेबाट हुने नाडा अटो शो २०२५ मा आउँछ वा आउँदैन अझै एकिन भएको छैन ।
टाटाको लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ ह्यारीयर ईभी बिक्री सुरू गर्न नपाउने शर्तमा भने अटो शोमा नल्याउने मुडमा देखिएको छ । यदि, बिक्री सुरू गर्न पाउने अवस्था रहेको खण्डमा भने नाडा अटो शो २०२५ मा प्रदर्शनी हुनेछ ।
भारतमा जुलाइमा लन्च भएको ह्यारीयर आफ्नो लुक र पावरफुल पर्फमेन्सको कारण चर्चा कमाइरहेको छ । फोर ह्वील ड्राइभ सिस्टमको साथ आएको ह्यारीयर ईभी भारतको ‘इलाफेन्ट रक’मा चढेको भिडियो बाहिर आएदेखि नै धेरै नेपालीले यसलाई वेटिङ लिस्टमा राखेका छन् ।
टाटा ह्यारीयरको उत्कृष्ट ५ विषयमा हामीले यहाँ चर्चा गरेका छौं ।
फिचर प्याक ईभी
नेपालमा चिनियाँ ईभीको वर्चश्व रहेता पनि छुट्टै सेग्मेन्ट बनाएर राम्रो संख्यामा ईभी बिक्री भइरहेको टाटाको लागि ह्यारीयर अर्को पृथक प्रोडक्ट हुनेछ । योसँग सिधा प्रतिस्पर्धा गर्ने अर्को मोडल नै नेपालमा छैन ।

टाटाले ह्यारीयर ईभीमा वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो सहितको सामसुङको १४.५३ इन्चको क्यूएलईडी इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । साथै, १०.२५ इन्चको डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले, प्यानारोमिक सनरुफ, पावर्ड टेलगेट, डिजिटल इन्टेरियर रियर भ्यू मिररले यसलाई खास बनाउँछ ।
युवाको म्युजिक प्रतिको चाहना पूरा गर्न १० वटा स्पीकर सहितको जेबीएलको साउण्ड सिस्टम, ३६० डिग्री क्यामरा, डिजिटल कि, विल्ट इन ड्यासक्याम, भेन्टिलेटेड र पावर्ड फ्रन्ट सिट दिइएको छ । पावर्ड बोस मोड, लेभल २ एडास सिस्टम, कनेक्टेड कारटेक, एम्बियन्ट लाइटिङ, अटोपार्क असिस्ट जस्ता क्याबिन फिचरले लोभ्याउने छ ।
ब्याट्री साइज र वारेन्टी
टाटाले ह्यारीयर ईभीमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक दिएको छ । भारतीय बजारमा टाटाले ब्याट्रीमा लाइफ टाइम वारेन्टी (१५ वर्ष अनलिमिटेड किलोमिटर) दिएको छ ।

यसमा प्रयोग भएको ब्याट्रीलाई ७.२ किलोवाटको एसी फास्ट चार्जरले १० बाट १०० प्रतिशत चार्ज गर्न १०.७ घण्टा लाग्छ । त्यस्तै, डीसी चार्जरको प्रयोग १२० किलोवाटसम्म गर्न सकिन्छ । उक्त चार्जरले २० बाट ८० प्रतिशत चार्ज गर्न २५ मिनेट मात्रै लगाउने छ ।
रेन्ज
टाटा मोटर्सले ह्यारीयर ईभीको रेन्ज ६२७ किलोमिटरसम्म हुने दाबी गरेको छ । यसको रियर ह्वील ड्राइभ भेरियन्टको ६५ किलोवाट आवरको ब्याट्रीप्याकले ५३८ किलोमिटर र ७५ किलोवाटको ब्याट्रीप्याकले ६२७ किलोमिटरको रेन्ज दिने एमआईडीसीले प्रमाणित गरको छ ।
त्यस्तै, ह्यारीयर ईभीको ७५ किलोवाट आवरको ब्याट्रीप्याक भएको अलह्वील ड्राइभ भर्सनले ६२२ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
मोटर पावर र स्पीड
ह्यारीयर ईभीमा रियर माउण्टेड १७५ किलोवाटको मोटर दिएको छ । यो मोटरले २३८ हर्सपावर र ३१५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । त्यस्तै अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ३९६ हर्सपावर र ५०४ न्युटन मिटरको टर्क जेनेरेट गर्छ ।

ह्यारीयर ईभीलाई शून्यबाट १०० किलोमिटरको स्पीड भेट्टाउन ६.३ सेकेण्ड लाग्छ । यसको टपस्पीड क्षमता भने १८० किलोमिटर प्रतिघण्टा छ ।
अफरोड क्षमता
टाटा ह्यारीयर भारतमा उत्पादन भएको ठूलो साइजको एकमात्र अल ह्वील ड्राइभ इलेक्ट्रीक एसयूभी हो । यसमा अल्ट्रा ग्लाइड रियर सस्पेन्सन सेटअप र फ्रिक्वेन्सी डिपेन्डेन्ट ड्याम्पर छ । त्यसको सहायताले बम्पहरूमा स्मुद ड्राइभ प्रदान गर्छ ।
ह्यारीयर ईभीमा नर्मल, स्नो/ग्रास, मड/रट्स, स्याण्ड, रक क्रल र कस्टम गरि ६ फरक ड्राइभिङ मोड पाउन सकिन्छ । यसमा ५ किलोमिटर प्रतिघण्टाको लो स्पीड क्रूज कन्ट्रोल सिस्टम दिइएको छ । साथै, कम्पनीले ५४० डिग्री क्यामरा पनि प्रयोग गरेको कारण गाडीको तल्लो भागको भ्यूसमेत अगाडि स्क्रीनमा देख्न सकिन्छ ।

