यस्तो छ संसारकै सस्तो मिनी इलेक्ट्रीक कार, विक्रीमा टेस्लालाई उछिन्यो

काठमाडौं । एक महिनामा नै ३६ हजार यूनिट विक्री भएपछि अहिले चीनमा उत्पादन भएको इलेक्ट्रीक कार ‘हाङ्गुवाङ मिनी’ निकै चर्चामा रहेको छ । सानो साइजको यो कारको विक्री टेस्ला मोडल थ्री भन्दा तीन गुणा बढी भएसँगै यसको चर्चा चुलिएको हो ।

चिनियाँ बजारमा टेस्लाले जनवरी २०२१ मा १२ हजार यूनिट मोडल थ्री विक्री गर्दा ‘हाङ्गुवाङ मिनी’ ३६ हजार यूनिट विक्री भएको हो । यो विक्री तथ्यांकसँगै ‘हाङ्गुवाङ मिनी’ चीनमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक कार मोडल भएको छ ।

हाङ्गुवाङ मिनीमा १३ किलोवाट आवरको सानो व्याट्री दिइएको छ । यसले एक पटकको फुल चार्जमा केवल १२० किलोमिटर मात्रै रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ । कम रेञ्जको कारण चीनमा यसलाई हाइवे ड्राइभिङको अनुमती दिइएको छैन ।

यो कार नेपाली सडकमा गुड्ने मारुती सुजुकी अल्टोभन्दा पनि निकै सानो रहेको छ । अल्टोको लम्बाई ३४५५ एमएम रहेको छ भने हाङ्गुवाङ मिनीको लम्बाई केवल २९१७ एमएम मात्रै रहेको छ । यसको चौडाई १४९२ एमएम र उचाई १६२१ एमएम रहेको छ ।

यसलाई कम्पनीले ४ हजार ११२ देखि ५ हजार ५४० अमेरिकी डलरसम्मको मूल्यमा विक्री गर्दै आएको छ । ५ हजार डलरभन्दा कम मूल्यमा पाउने यो पहिलो इलेक्ट्रीक कारसमेत हो ।


Back_to_top