तयार भयो पाँच ढोका भएको विलिङ मिनी ईभी, मूल्य कति ?

काठमाडौं । विलिङको सफल मिनी कार ५ ढोका भएर आएको छ । चिनियाँ कम्पनीले आफ्नो सफल मोडल ‘होङजोङ’ मिनीको ५ ढोक भएको भर्सन सार्वजनिक गरेको हो ।

चीनबाट बिक्री सुरु भएको यो मिनी कार विलिङ विङ्गो ह्याचव्याक जस्तै डिजाइनमा देखिन्छ । विलिङको पुरानो टु डोर भर्सन नेपाली बजारमा एयर मिनीको नामबाट बिक्री हुँदै आएको छ । साथै, एमजी ब्राण्डमा पनि कोमेट नामबाट उत्पादन हुँदै आएको मिनी कार विलिङबाट प्रेरित मोडल हो ।

कम्पनीले ५ ढोका दिएर ल्याएको मिनी कारको लम्बाइ ३२५६ एमएम, चौडाइ १५१० एमएम र उचाइ १५७८ एमएम छ । कम्पनीले यसअघि दिएको २०१० एमएम लामो ह्वील वेसलाई बढाएर २१९० एमएम बनाएको छ । लम्बाइ पनि १९२ एमएमले बढेको हो ।

कम्पनीले मोटर भने ३० किलोवाट क्षमताकै प्रयोग गरेको छ । यसअघि पनि यहि साइजको मोटर उपलब्ध थियो । ब्याट्रीको साइज १६.२ किलोवाट आवरको छ । गोसनले उत्पादन गरेको लिथियम आइरन फस्फेट ब्याट्रीले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।

कम्पनीले नयाँ मोडलमा पनि ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्चको एलइडी इन्फर्मेशन डिस्प्लेलाई निरन्तरता दिएको छ । टु स्पोक स्टेरिङ ह्वील, नयाँ एसी भेन्ट, अटोमेटीक पार्किङ र कन्ट्रोल नब जस्ता आधुनिक फिचर उपलब्ध गराएको छ ।

विलिङले चीनमा यसको मूल्य ६ हजार ९०० डलर तोकेर बिक्री सुरु हुन लागेको हो । यसलाई कम्पनीले फोर्थ जेनेरेशन मोडल भनेको छ । यसको बिक्री पनि निकै राम्रो संख्यामा हुँदै आएको छ । अक्टोबर महिनामा मात्रै कम्पनीले ४२ हजार १६५ युनिट होङजोङ मोडल बिक्री गरेको थियो ।


Back_to_top