काठमाडौं । सन् २०२५ को ११ महिनामा विश्व बजारमा ४ लाख ३० हजार युनिट बिक्री भएको जिली झिङयुआनले टेस्लादेखि बीवाइडीसम्मलाई पछाडि पारेको हो । जिलीले यसलाई चीन बाहिर पनि बिक्री सुरु गरिसकेको छ ।
सन् २०२४ मा बीवाइडी सिगल र टेस्ला मोडल वाई जस्ता माथिल्लो स्थानमा रहेका विद्युतीय मोडललाई उछिन्दै सन् २०२५ मा झिङयुआन मोडल सर्वाधिक बिक्री हुने मोडल बनेको हो ।
जिलीले झिङयुआन मोडलको २०२६ भर्सन पनि बाहिर ल्याइसकेको छ । कम्पनीले नयाँ मोडलको मूल्य ९ हजार ७०० अमेरिकी डलरदेखि १२ हजार ३४० डलरसम्म मूल्य कायम गरेर चीनमा बिक्री थालेको हो । जसको मूल्य बीवाइडी सिगल सरह नै छ ।
चिनियाँ कार रिभ्यू गर्नेहरुको रिपोर्टलाई आधार मान्ने हो भने इन्टेरियर स्पेस, कटिङ एज सफ्टवयर र उत्पादन गुणस्तरका आधारमा झिङयुआन मोडल अब्बल मानिन्छ ।
जिली र प्रोटोन ब्राण्डमा नेपाल ल्याउने कसरत
चीनमा झिङयुआन नामबाट बिक्री हुने ह्याचव्याक कार अन्तर्राष्ट्रिय बजारमा जिली र प्रोटोनको ब्राण्ड नेममा उपलब्ध हुनेछन् । मलेशियन ब्राण्ड प्रोटोनले स्थानिय बजारमा इमास फाइभ नामबाट यसको बिक्री थालेको छ । प्रोटोनको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले इमास फाइभ नामबाटै यसलाई नेपालमा बिक्री थाल्ने योजना तयार पारेको छ ।
जिली ब्राण्डमा भने यसको नाम ‘इएक्स टु’ रहेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध गराउने योजना बनाएको इएक्स टु नेपालमा पनि एलआरआर ग्रुपले ल्याउने तयारी गरिरहेको जनाएको छ । सम्भवत सन् २०२६ को दोस्रो क्वाटरबाट इएक्स टु नेपाली बजारमा प्रबेश गर्ने अनुमान गर्न सकिन्छ ।
ब्याट्री र मोटर
झिङयुआन मोडललाई कम्पनीले दुई ब्याट्री र दुई मोटर अप्सनमा ल्याएको छ । नेपाली बजारमा कति भेरियन्ट आउँछ, कुनै पनि कम्पनीले जानकारी दिएको छैन ।
चीनमा उपलब्ध मोडलको आधारमा यसमा ३० र ४० किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री दिइएको छ । जुन ब्याट्री सीएटीएलले उत्पादन गरेको हो । यी दुई ब्याट्रीले क्रमशः ३१० र ४१० किलोमिटर रेन्ज दिने चाइनाज् लाइट ड्यूटी भेहिकल टेस्ट साइकल (सीएलटीसी)ले प्रमाणित गरेको छ ।
कम्पनीले यसमा ५८ र ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । सानो ब्याट्रीसँग सानै मोटर छ भने ठूलो ब्याट्रीले ८५ किलोवाटको मोटरलाई इनर्जी प्रदान गर्छ ।
रियर ह्वील ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन
जिलीले आफ्नो ह्याचब्याक कारमा रियर ह्वील ड्राइभ सिस्टम दिएको छ । साथै, इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले यसको पर्फमेन्स पनि उत्कृष्ट बनाएको छ । यो सेग्मेन्टमा कुनै पनि ब्राण्डले बिक्री गर्ने कारमा रियर ह्वील ड्राइभ र पछाडि इन्डिपेन्डेन्ट सस्पेन्स दिएकै छैनन् ।
क्याविन फिचर
फ्लाइमी अटोको स्मार्ट ककपिट सिस्टम उपलब्ध कारमा १४.१ इन्चको विशाल स्कृन पाउन सकिन्छ । चालकलाई सुचना दिन ८.८ इन्चको डिजिटल क्लस्टर दिइएको छ ।
गाडीमा ३७५ लिटरको बुट स्पेश पाउन सकिन्छ । अगाडि पनि ७० लिटरको फ्रन्ट फ्रङ्कस उपलब्ध छ ।

