एक्सपेङ जी-६ भयो अपग्रेड, फेरियो ८१ वटा फिचर

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी एक्सपेङले जी-६ मोडलमा रहेका ८१ फिचरलाई अपग्रेड गरेर ल्याएको छ । कम्पनीले इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसहित अन्य फिचर अपग्रेड गरेको हो ।

कम्पनीका अनुसार ३४ प्रतिशत टियर-वान कम्पोनेन्टहरु परिवर्तन भएका छन् । एक्सपेङले जी-६ मोडलको अगाडिको डिजाइनमा परिवर्तन गरेको छ । पहिलेको हेडलाइट परिवर्तन गरेर ‘ग्यालेक्सी लाइट विङ’मा एलइडी स्ट्रीप दिइएको छ । एक्सपेङको लोगोलाई बोनेटमा लगिएको छ । इन्टेलिजेन्ट ड्राइभिङ प्रणालीको लागि विशिष्ट प्रकारको निलो लाइट थप गरिएको छ ।

पछाडि बम्परमा पनि परिवर्तन भएको छ । नयाँ डकटेल स्पोइलरले जी-६ लाई थप स्पोर्टी बनाएको छ । गाडीको भित्र पनि कलरमा परिवर्तन भएको छ । ड्यासबोर्डको बीचमा रहेको १५.६ इन्चको स्कृन, १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले, नयाँ स्टेरिङ ह्वील, ग्यालेक्सी रिदम एम्बीयन्ट लाइट, हिटेड-कुलिङ र मसाज सिट यसका विशेषता हुन् । यी मध्ये धेरै फिचर अहिले पनि उपलब्ध छ ।

नयाँ जी-६ को ढोकामा ५० प्रतिशतभन्दा बढी स्थानमा लेदर प्रयोग भएको छ । वायरलेस चार्जरको एरिया सफ्टटच बनाइएको छ । ड्यासबोर्डमा काठको प्रयोग देख्न सकिन्छ ।

एक्सपेङ जी-६ अहिले नेपालमा १९० किलोवाटको मोटरमा उपलब्ध छ । सायद नेपालमा यहि मोटरमा नै जी-६ आउने छ । तर, चीनमा २१८ किलोवाटको मोटरमा बिक्री हुनेछ । ८०० भोल्ट आर्किटेक्चरमा बनेको जी-६ ले ‘५सी’ अल्ट्रा-फास्ट चार्जिङ सपोर्ट गर्ने ब्याट्री छ ।


Back_to_top