काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले सबै किसिमका विद्युतीय साधनको खरिदमा गाडीको मूल्यको ४० प्रतिशत अनिर्वाय डाउन पेमेन्ट गर्नु पर्ने व्यवस्था गरेको छ । यसले ईभीको व्यापारमा धक्का लाग्ने अनुमान गर्नेहरू धेरै भेटिन्छन् ।
अहिले औसतमा २० लाखदेखि ७५ लाख रुपैयाँसम्मका विद्युतीय गाडी धेरै बिक्री हुन्छन् । मूल्यका हिसाबले धेरै बिक्री हुने गाडी किन्दा ४ लाखदेखि १५ लाखसम्म डाउन पेमेन्ट गर्दा पुग्थ्यो । सुरूमा थोरै रकम तिरेर बाँकी कर्जा सुविधा पाइने हुँदा धेरै मानिसले गाडी खरिद गरेको बुझाइ आम जनमानसमा पाइन्छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार अब त्यही गाडीहरू खरिद गर्न सुरूमा ८ लाखदेखि ३० लाख रुपैयाँसम्म डाउन पेमेन्ट गर्नुपर्ने भएको छ । नयाँ व्यवस्था अनुसार सुरूमा डाउन पेमेन्ट धेरै गर्नु पर्ने भएको कारण गाडी किन्न जानु अगाडि धेरै रकम जम्मा गर्नु पर्ने भयो । सोझो हिसाबले सरकारको यो नियम ईभी किन्नेको लागि बेफाइदा भयो ।
अब यसको आर्थिक पाटोबाट हेर्दा फाइदा धेरै देखिन्छ । किन भने सुरूमै धेरै रकम डाउन पेमेन्ट गर्दा कर्जा कम लिँदा पुग्छ । कर्जा कम भएसँगै ब्याज बापतको खर्च कम हुन्छ । सिधाभन्दा उपभोक्तालाई आर्थिक रूपमा फाइदा धेरै हुन्छ ।
व्यवसायीहरूले सुरूमै धेरै नगद खर्च गरेर गाडी किन्न नखोज्न सक्छन् । त्यसले उनीहरूको क्यास फ्लोलाई बिगार्न सक्छ । तर, जागिर गरेर गाडी किन्नेको लागि नयाँ नियमले अफ्ठ्यारो बनाउँदैन । उसलाई कालान्तरमा फाइदा नै हुन्छ ।
उदाहारणमा कति फाइदा पुग्छ भन्ने हेरौं ।
यदि तपाईंंले ५० लाख पर्ने कुनै एउटा एसयूभी किन्ने योजना बनाउनु बनाएको खण्डमा अब सुरूमै २० लाख रुपैयाँ डाउन पेमेन्ट बापत बुझाउनु पर्छ । पहिले १० लाख रुपैयाँ डाउन पेमेन्ट तिरेर बाँकी ४० लाख कर्जा लिन सक्नु हुन्थ्यो ।
नयाँ व्यवस्थाले सुरूमै गाडी किन्न तपाईंंले १० लाख रुपैयाँ अतिरिक्त रकम जोहो गर्नुपर्छ । वार्षिक कर र बीमाको लागि चाहिने रकम पनि तपाईंंसँग हुनुपर्छ । त्यो सबै मिलाउँदा करिब २१ लाख रुपैयाँ लिएर जाँदा तपाईंंले ५० लाख मूल्यको गाडी घर लान सक्नुहुन्छ ।
पहिलेको व्यवस्था अनुसार झण्डै ११ लाख रुपैयाँ लगेर तपाईंले गाडी घर लान सक्नु हुन्थ्यो । पुरानो ब्यवस्था अनुसार तपाईंले तिर्नु पर्ने मासिक किस्ता सम्बन्धी विवरण हेर्न यहाँ क्लिक गर्नुहोला । यो विवरण अहिलेको ब्याजदरमा आधारित रहेर हिसाब गरिएको हो । अहिले सबै वाणिज्य बैंकहरूले ८ प्रतिशत ब्याजदर हाराहारीमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।
पहिलेको व्यवस्था अनुसार ४० लाख कर्जा बापतको रकम ८४ किस्तामा तिर्नेगरी गाडी लिँदा उपभोक्ताले मासिक ६२ हजार ३४५ रुपैयाँ किस्ता तिर्नु पर्थ्यो । यसरी तिरेको रकममा कर्जा अवधिभरमा तपाईंले ब्याज मात्रै १२ लाख ३६ हजार ९६८ रुपैयाँ तिर्नुपर्छ ।
नयाँ व्यवस्था अनुसारको मासिक किस्ता सम्बन्धी विवरण थाहापाउन यहाँ क्लिक गर्नुहोला । यसमा पनि ब्याजदर र कर्जा अवधि माथिकै जसरी निकालिएको हो । सुरूमै १० लाख रुपैयाँ धेरै तिर्नु पर्ने भएको कारण यसमा मासिक किस्ता ४६ हजार ७५९ रुपैयाँ तिर्दा पुग्छ । जुन २० प्रतिशत डाउन पेमेन्ट गर्दाभन्दा १५ हजार ६०६ रुपैयाँले कम हो ।
अब यसमा ब्याज बापतको रकम कति तिर्नुपर्छ त्यो पनि हेरौं । कर्जा नै कम भएपछि ब्याजपनि कम हुने नै भयो । ७ वर्षमा कुल ९ लाख २७ हजार ७२६ रुपैयाँ ब्याज तिर्नुपर्छ । जुन थोरै डाउन पेमेन्टको तुलनामा ३ लाख ९ हजार २४२ रुपैयाँले कम हो ।
त्यसैले, कर्जा कम लिँदा बढी फाइदा हुन्छ । किन भने मासिक किस्तामा पनि ठूलो अन्तर आउँछ भने ब्याज बापत तिर्नु पर्ने रकम पनि कम हुन्छ ।