नेपालमा हाइब्रिड मोडल बिक्री सुरु गर्दै बीवाइडी, यस्तो छ पहिलो मोडल

काठमाडौं । नेपालको लागि बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले हाइब्रिड मोडल बिक्री सुरु गर्ने भएको छ । कम्पनीले काठमाडौंको एभरेष्ट होटलमा ‘हाइटेक विक’ लगाएर हाइब्रिड मोडल बिक्री सुरु गर्ने जनाउ दिएको हो ।

एक सातासम्म चल्ने विशेष प्रदर्शनीमा बीवाइडीले विकास गरेको ब्याट्री टेक्नोलोजी, प्लेटफर्म, प्रिमियम ब्राण्डदेखि हाइटेक फिचरहरु छन् । जहाँ जोकोही गएर अवलोकन गर्न सक्नेछन् ।

यही प्रदर्शनीमा रहेको सार्क पीकअप ट्रक भने साइमेक्स इंकले छिट्टै बिक्री सुरु गर्ने भएको हो । उक्त सार्क पीकअप हाइब्रिड मोडल हो । यसमा ब्याट्री, मोटर र पेट्रोल इन्जिन पाउन सकिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा नै प्योर इलेक्ट्रीकभन्दा निकै धेरै हाइब्रिड गाडी बिक्री गर्न थालेको बीवाइडीले नेपालमा पनि हाइब्रिड मोडल डेब्यू गर्ने भएको हो । यसले भोलिका दिनमा कस्तो बजार र ब्यापार पाउँछ, त्यो हेर्न भने बाँकी नै छ । तर, बीवाइडीको हाइब्रिड मोडलहरु निकै किफायती छन् । त्यसको फाइदा नेपाली उपभोक्ताले पनि उठाउन सक्नेछन् ।

यस्तो छ सार्क पीकअप

फोर वाई फोर सिस्टममा उपलब्ध हुने सार्क पीकअप ‘डीएमओ प्लेटफर्म’मा आधारित रहेको छ । जसमा डीएम भन्नाले ड्युल मोटर र ओको अर्थ अफरोड भन्ने हुन्छ । उक्त पीकअपको लम्बाइ, चौडाइ र उचाइ क्रमशः ५४५७ एमएम , १९७१ एमएम, १९२५ एमएम छ । यसमा ह्वीलबेस भने ३२६० एमएम लामो छ ।

बीवाइडी सार्कमा ड्युल मोटर सेटअपमा फ्रन्ट मोटरले १७० किलोवाटको पीक पावर र ३१० एनएम टर्क उत्पादन गर्दछ भने रियर मोटरले १५० किलोवाटकोे पीक पावर र ३४० एनएम र्टक जेनेरेट गर्छ । समग्रमा इलेक्ट्रीक मोटरको पावर ३२० किलोवाट छ ।

हाइब्रिड मोडल भएको कारण पीकअपमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन छ । उक्त इन्जिनले ११० पीक पावर दिन्छ । यसको पेट्रोल इन्जिनले फ्रन्ट ह्वील ड्राइभ गर्छ ।

यस्तै, बीवाइडी सार्कले ५.७ सेकेन्डमा ० देखि १०० किलोमिटरसम्मको स्पीड लिन सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यसमा २९.५८ किलोवाट आवरको ब्लेड ब्याट्री रहेको छ । यसले १०० किलोमिटर रेन्ज दिने एनइडीसीले प्रमाणित गरेको छ । फुल ट्याङकी पेट्रोल र ब्याट्रीको संयुक्त रेन्ज भने ८४० किलोमिटर रहेको कम्पनीको दावी छ ।

बीवाइडी सार्क हाइब्रिड भएकाले १०० किलोमिटर यात्रा गर्न ७.५ लिटर मात्र इन्धन खपत गर्ने कम्पनीको दावी छ । यस पीकअपमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्स्टर, १२.८ इन्चको रोटेड इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ ।

डिजिटल की, भोइस कन्ट्रोल, रिमोट भेहिकल मेनेजमेन्ट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर साथै हेडअप डिस्प्ले समेत उपलब्ध पीकअपको क्याविन पूर्ण एसयूभीको जस्तै छ ।

फोरह्वील ड्राइभ अप्सन रहेको सार्कमा स्याण्ड, मड र स्नो गरी ३ वटा ड्राइभ मोड समेत छ । त्यस्तै, यसमा इन्डिपेन्डेन्ट क्वाइल स्प्रिङ रियर सस्पेन्सन रहेको छ । यो पीकअपको पेलोड ८३५ केजी तथा टोइङ क्यापासिटी २५०० केजीसम्म रहेको कम्पनीको दावी छ ।


Back_to_top