एक्सपेङ जी-६ : डाउन पेमेन्ट १५ लाख, ब्याजदर निकै सस्तो

काठमाडौं । सीजी मोटर्सले ८४ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको एक्सपेङ जी-६ किन्नेले १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट तिर्दा पुग्ने स्कीम ल्याएको छ ।

कम्पनीले ल्याएको स्कीममा १७.६३ प्रतिशत रकम डाउन पेमेन्ट गर्दा बाँकी रकम बैंकबाट कर्जा सुविधा लिन सकिन्छ ।

सीजी मोटर्सले २० प्रतिशत नै डाउन पेमेन्ट गर्नुपर्ने जनाएको छ । तर, सबै किसिमको छुट लगायत घटाउँदा १४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्ने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले ईभीमा जाने कर्जामा लोन टु भ्यालु रेसियो परिवर्तन गरेर ६०/४० बनाएसँगै कम्पनीहरूले नयाँ कर्जाको स्कीमहरू दिइरहेका छन् । अहिले सीजीले जस्तै धेरै कम्पनीले २० प्रतिशत डाउन पेमेन्ट चलाइरहेका छन् ।

सीजीले एक्सपेङको लागि राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको जनाएको छ । त्यसैले उपभोक्ताले ब्याजदर पनि आकर्षक पाउने छन् । कम्पनीले आफ्नो स्कीममा ६.५५ प्रतिशत ब्याजदर भनेर उल्लेख गरेको छ ।

कर्जा पनि आवेदन दिएको ४८ घण्टा भित्रै स्वीकृत हुने जनाइएको स्कीममा ७ वर्ष अवधिको कर्जा पाइने छ । सीजीले एक्सपेङ किन्ने उपभोक्तालाई आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क बीमा र एक वर्षको सवारी कर दिनेछ । साथै, ७ किलोवाटको चार्जर पनि पाउने छ ।

फिचर लोडेड क्रसओभर

एक्सपेङ जी-सिक्स फिचर लोडेड क्रसओभर हो । कुप्पे डिजाइनमा तयार भएको जी-सिक्समा ६६ किलोवाट आवरको लिथियम आयोन (एलएफपी) ब्याट्री प्याक दिइएको छ ।

जी-सिक्स एसयूभीको लम्बाइ ४७५३ एमएम, चौडाइ १९२० एमएम र उचाइ १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा ह्वील भने २० इन्चको पाउन सकिन्छ । एरोडाइनामिक्सलाई ध्यानमा राखेर निर्माण भएको जी-सिक्सको ड्रयाग कोफिसियन्ट ०.२४८ सीडी छ ।

‘एसइपीए २.० इलेक्ट्रीक प्लेटफर्म’मा बनेको जी-सिक्स ८०० भोल्ट इलेक्ट्रीक आर्किटेक्चरमा बनेको हो । यसले ४८० किलोवाटसम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । यसको रियर ह्वीलमा १९० किलोवाटको मोटर छ ।

यसमा रहेको एक्सएनजिपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ वटा फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ रडार, अल्ट्रासोनिक सेन्सर, क्यामरा, ड्युल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।

बडी स्ट्रक्चरको फ्रन्ट र रियरमा आल्मुनियम कास्ट इलिमेन्टस्को प्रयोग भएकाले यो ईभी ८३ प्रतिशत बढी रिजिडिटी पाउन सकिन्छ । यसको क्याबिन क्लिन डिजाइनमा छ ।

टुइन स्पोक ओभल सेपको स्टेरिङ ह्वील, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र १५ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले एक्सपेङ एक्समार्ट ४.० अपरेटिङ सिस्टम र हिटपम्प वेस्डको एयर कन्डिसन सिस्टम छन् ।


Back_to_top