महिन्द्राको नयाँ ईभी दुई महिनापछि बजारमा आउने

सांकेतिक तस्विर

काठमाडौं । भारत तथा नेपालमा पहिलो पटक इलेक्ट्रीक भेहिकल विक्री गरेको महिन्द्राले विश्व बजारमा ईभीको उछाल आएसँगै आफु भने पछाडि धकेलिएको थियो ।

भारतीय ब्राण्ड महिन्द्राले रेभालाई टेकओभर गरेपछि इटुओ र इटुओ प्लस बजारमा ल्याएको थियो । सानो आकारमा तयार भएको उक्त सिटी कार नेपाली बजारमा राम्रो संख्यामा विक्री भएको थियो । तर, भारतमा धेरै संख्यामा विक्री नहुँदा महिन्द्राले यसको उत्पादन नै बन्द गरेको थियो । कम्पनीले इभेरिटो सेडानलाई पनि इलेक्ट्रीकमा ल्याएको थियो । तर, यसले पनि बजारमा कमाल गर्न सकेन ।

भारतीय अर्को ब्राण्ड टाटा भने इलेक्ट्रीक भेहिकल उत्पादनमा धेरै अगाडि बढेको नजिकबाट नियाली रहेको महिन्द्राले एक्सयूभी ४०० मोडल सेप्टेम्बरबाट विक्री सुरु गर्दैछ । साथै, कम्पनीले थप ३ नयाँ मोडलको कन्सेप्ट पनि सार्वजनिक गर्ने बताएको छ ।

प्रतिस्पर्धीको तुलनामा आफुलाई कमजोर नबनाउने योजना अन्तर्गत कम्पनीले नयाँ ईभीको लागि छुट्टै कम्पनी स्थापना गरेको छ । महिन्द्राले ग्लोबल मार्केटमा इभी विक्री गर्नका लागि नयाँ इभी कम्पनीनै बनाएर अगाडि बढ्ने तयारी गरेको हो । त्यसको लागि ८ हजार करोड लगानी गर्ने भएको हो ।

महिन्द्राले अहिले उत्पादनमा रहेको कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० मा आधारित भएर नयाँ ईभी एक्सयूभी ४०० बजारमा ल्याउने छ । यो मोडल कोरियन ब्राण्ड साङयोङको टिभोलीबाट प्रभावीत मोडल हो । महिन्द्राको नयाँ इभीको रेन्ज एकपटकको फुल चार्जमा ३०० किलोमिटरसम्म हुने अनुमान गरिएको छ । यसमा ९५ देखि १०५ किलोवाट क्षमताको मोटर जडान हुनेछ ।

यसका अलावा महिन्द्राले ‘बर्न इलेक्ट्रीक एसयूभी’को आधारमा ३ वटा इलेक्ट्रीक एसयूभीको कन्सेप्ट सार्वजनिक गर्न लागेको छ । आगामी अगस्ट १५ मा देखाइन लागेको यी एसयूभीहरु समान डिजाइन ल्याङ्वेज रहनेछन् ।


Back_to_top