काठमाडौं । पारामउन्ट मोटर्सले नयाँ ‘स्टेट अफ दी आर्ट’ सर्भिस सेन्टर संचालनमा ल्याउने तयारी गरेको छ । उपत्यकामा रहेका एमजीका ग्राहकलाई लक्षित गर्दै कम्पनीले ३० हजार स्क्वायर फिटमा फैलिएको नयाँ सर्भिस सेन्टर संचालनमा ल्याउन लागेको हो ।
यसअघि धुम्बाराहीमा रहेको सर्भिस सेन्टरबाट सुविधा दिँदै आएको कम्पनीले भदौ महिनादेखि एकान्तकुनामा निर्माण गरेको नयाँ सर्भिस सेन्टरबाट सेवा प्रदान गर्नेछ ।
‘अहिले फिनिसिङको काम चलिरहेको छ । आगामी ४० दिन भित्र नयाँ सर्भिस सेन्टर संचालनमा ल्याउने योजना बनाएका छौं । नयाँ सर्भिस सेन्टर हरेक हिसाबले उत्कृष्ट र सेवा प्रदान गर्न सक्षम हुनेछ’, पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले भने ।
अर्यालका अनुसार नयाँ सर्भिस सेन्टर करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ स्पेयर पार्टस्, डेन्ट पेन्ट्सको सुविधा समेत उपलब्ध हुनेछ ।

निर्माणको क्रममा यो सर्भिसेन्टरलाई नियाल्दा काठमाडौंमा कुनै पनि ब्राण्डले खोलेको सबैभन्दा ठूलो र आधुनिक सर्भिस सेन्टर बन्न लागेको अनुमान गर्न सकिन्छ ।
जनरल म्यानेजर अर्यालको अनुसार नयाँ शोरुममा विद्युतीय गाडीको लागि दुईवटा डीसी चार्जर र दुई वटा एसी चार्जर पनि जडान गर्ने तयारी भइरहेको छ ।

एमजीको सर्वाधिक सफल जेडएस ईभी, एचएस, हेक्टर जस्ता प्रिमियम मोडल नेपालमा उपलब्ध छन् । चाँडै कम्पनीले एस्टर मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

