काठमाडौं । नेपालमा तिब्र विस्तार हुँदै अलग पहिचान निर्माण गर्न सफल जापानी ब्राण्ड यामाहाले भारतमा पनि पछिल्ला तीन वर्षमा आफ्नो बजार हिस्सालाई दोब्बर बनाउन सफल भएको छ ।
विशेषत भारतमा कम मूल्यका मोटरसाइकल खोज्ने धेरै ग्राहक रहेका छन् । यस्तोमा जापानी ब्राण्डले आफ्नो बजार हिस्सा दोब्बर बनाउन सक्नुलाई ठूलो सफलता मानेको छ । त्यो सफलतालाई अझै बलियो बनाउन यामाहाले १२५ देखि १५० सीसी सेग्मेन्टमा नयाँ मोडलहरु ल्याउने तयारी गरिरहेको छ ।
यामाहा मोटर इन्डियाका चेयरम्यान यसिन चियानाले नयाँ मोटरसाइकलको तयारीको विषयमा भने, ‘हामी ग्राहकको मोटरसाइकल किन्न सक्ने आर्थिक क्षमतालाई ध्यान दिने छौं । हाम्रो प्रयास कम मूल्यका साधन ल्याउने र सन् २०२५ सम्ममा अहिलेको बजार हिस्सालाई दोब्बर बनाउने रहने छ ।’
गतवर्ष यामाहाले भारतमा ४ प्रतिशतभन्दा कम नै बजार हिस्सा ओगटेको छ । नेपालमा भने यामाहाको करिब १८ प्रतिशत बजार हिस्सा रहेको छ । आफ्नो बजार हिस्सा अझै बलियो बनाउन यामाहाले इलेक्ट्रीक स्कुटर, नयाँ एमटी १५, एक्सएसआर १५५ जस्ता मोडललाई बजारमा उतार्ने तयारी गरिरहेको छ ।

