काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक वितरक भिजी इम्पेक्सले ‘ओरा गुड क्याट’को बुकिङ खुल्ला गर्ने भएको छ । कम्पनीले दुई महिना अघि केही यूनिट गुड क्याट आयत गरेर सडक परिक्षण गरेसँगै आधिकारीक बुकिङ खुल्ला गर्न लागेको हो ।
यस वीचमा धेरै ग्राहकलाई टेष्ट ड्राइभ गराएको र ग्राहकको प्रतिक्रिया अनुसार अगाडि बढ्ने योजना बनाएको कम्पनीले जानकारी दियो ।
‘हामीले गुड क्याटको टेष्ट ड्राइभ निरन्तर गराएका छौं, ग्राहकको निकै राम्रो प्रतिक्रिया आएको छ । त्यसैले आगामी हप्तासम्ममा आधिकारीक बुकिङ खुल्ला गर्ने तयारी गरिरहेका छौं’, कम्पनीका भाइस प्रेसिडेन्ट रुपेश भट्टले मेरोअटोसँग भने ।

भट्टका अनुसार अहिले मूल्य निर्धारण भइसकेको छैन । यसअघि भन्सार छुटाउने समयमा निकालिएको मूल्यमा घट्ने वा बढ्ने जे पनि हुन सक्नेछ ।
यसअघि नेपाल आएको ओरा गुड क्याट लो भेरियन्टको मूल्य ३९ लाख ९९ हजार ९९९, मिडियम भेरियन्टको ४३ लाख ४९ हजार ९९९ र हाई भेरियन्टको ४७ लाख ९९ हजार ९९९ रहने भन्सारमा घोषणा गरिएको थियो । अब यही मूल्य कायम हुन्छ वा फरक मूल्य निर्धारण हुन्छ, त्यो थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।

क्लासिक डिजाइनमा तयार भएको गुड क्याट यूरोपियन डिजाइन र चिनियाँ टेक्नोलोजीको मिश्रण हो । ४२३५ एमएमको लम्बाई, १८२५ एमएम चौडाई र १५९६ एमएम उचाई रहेको कारमा २६५० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।
बिरालोको जस्तो गोलो हेडलाइट र त्यसको वरिपरी दिइएको एलइडी डे टाइम रनिङ लाइटको साथै त्यसैमा दिइएको साइड इन्डिकेटरले यसको ‘क्लासिक नेस’लाई प्रदर्शित गरेको छ ।
बाहिर डिजाइनसँगै यसको भित्री बनोट पनि लोभलाग्दो छ । ड्यूलटोन कलरमा सजाइएको ड्यासबोर्ड, ड्यासबोर्डमा दिइएको ठूलो टचस्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले आकर्षण थपेको छ । त्यस्तै क्लासिक थिममा दिइएका एसी कन्ट्रोल नब, पानारोमिक सनरुफ, वायरलेस चार्जर जस्ता सुविधाले चालक र यात्रुलाई फरक फिल दिन्छ ।

गुड क्याटमा १०५ किलोवाट पीक पावरको मोटर छ । जुन अधिकतम १४० हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्न सक्षम छ ।
भिजी इम्पेक्सले गुड क्याटलाई दुई फरक व्याट्री अप्सनमा नेपाल ल्याएको थियो । लो भेरियन्टमा ४७.७ किलोवाट आवर र हाई भेरियन्टमा ६३.१ किलोवाट आवर क्षमताको व्याट्री दिइएको छ । जसको रेन्ज एक पटकको फुल चार्जमा क्रमशः ४०१ र ५०१ किलोमिटर रहने कम्पनीको दावी छ ।

