काठमाडौं । पछिल्लो समय तरलता अभावका कारण मोटरसाइकल विक्रीमा आएको गिरावटका कारण कम्पनीहरुले विभिन्न फाइनान्स स्कीमहरु ल्याइरहेका छन् ।
यही क्रममा नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले धेरै सुविधासहितको नयाँ मासिक किस्ताको स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको फाइनान्स स्कीममा यामाहा एमटी १५ खरिद गर्नेका ग्राहकले मासिक ९ हजार १४७ रुपैयाँ किस्ता तिर्नेगरी मोटरसाइकल खरिद गर्न सक्ने छन् । एमटी १५ को अहिले ४ लाख ८३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री हुँदै आएको छ ।
नयाँ आएको स्कीममा एमटी १५ किन्ने ग्राहकले डाउन पेमेन्ट वापत मूल्यको ५० प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९५० रुपैयाँ बुझाउनु पर्ने हुन्छ । त्यस पश्चात बाँकी रकम ३० महिनामा तिर्नेगरी मोटरसाइकल लिँदा ९ हजारभन्दा केही बढी मासिक बुझाउनु पर्छ ।

साथै, ग्राहकले १८ र २४ महिनमा बाँकी रकम तिर्नेगरी लिन चाहने ग्राहकले प्रति महिना क्रमशः १४ हजार ८८ रुपैयाँ र १० हजार ९४२ रुपैयाँ मासिक तिर्नु पर्ने हुन्छ ।
यामाहाले यही स्कीम आर १५ सिरिजमा पनि प्रदान गरिने जनाएको छ ।
यस्तो छ मोटरसाइकल
यामाहाले एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड फोर भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
यसको लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम, १०७० एमएम उचाई रिहेको छ भने १३३५ एमएमको ह्वीलवेश लगाइएको छ ।
एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

