काठमाडौं । नयाँ प्रदुषण मापदण्ड बीएस सिक्स इन्जिनमा नेपाल आएको एमटी १५ सोल्ड आउट भएको निकै लामो समय भइसकेको छ । लामो समयदेखि सोल्ड आउट रहेको यामाहा एमटी १५ पुनः नेपाल आउन लागेको हो ।
यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले नयाँ लट एमटी १५ बैशाख पहिलो हप्ता आउने जानकारी दिएको छ ।
नयाँ लटमा ६०० यूनिटभन्दा धेरै एमटी १५ नेपाल आउन लागेको बताउँदै एमएडब्लूका सीइओ राजु क्षेत्री भन्छन्, ‘ग्राहकको माग उच्च रहेको कारण हामीले नयाँ लट एमटी १५ मगाएका छौं । बैशाख पहिलो हप्तासम्म सबै मोटरसाइकल नेपाल आउने छन् । अहिले तीन महिनादेखि एमटी १५ बुकिङ गरेका ग्राहकले कुरेर बसेका छन् ।’
एमटी १५ युवा वर्गमा चर्चित मोटरसाइकल हो । यो सेग्मेन्टमा अन्य ब्राण्डको प्रतिस्पर्धी मोडल नभएका कारण पनि यसले सफलता पाइरहेको छ । यामाहा एमटी ०९ बाट प्रभावित डिजाइनमा तयार भएको एमटी १५ निकै आकर्षक रहेको छ ।
यामाहाले एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड फोर भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १९.०५ बीएच पावरका साथै ८५०० आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।


