प्रतिघण्टा ५०० किमी बढीको स्पीडमा गुड्ने कार बनाउँदै बीवाइडी

काठमाडौं । बीवाइडीले प्रतिघण्टा ५०० किलोमिटरभन्दा धेरैको तीव्र गतिमा कुद्ने कार बनाउने भएको छ । कम्पनीले आफ्नो सबब्राण्ड याङवाङले उत्पादन गरेको ‘Yangwang U9 Xtreme’ हाइपरकारलाई अपग्रेड गर्दै उक्त गतिमा कुद्ने बनाउने भएको हो ।

वेलायतमा आयोजना भएको गुडवुड फेस्टिभल अफ स्पीडमा बीवाइडीका उपाध्यक्ष स्टेला लीले याङवाङ यू नाइन एक्सट्रिम’ हाइपरकारलाई प्रतिघण्टा ५०० किमीभन्दा बढीको तीव्र गतिमा कुद्ने कारको रेकर्ड बनाउने नयाँ योजनाको घोषणा गरेकी छन् । उनले आगामी नोभेम्बर महिनामा यो ऐतिहासिक प्रयास गरिने घोषणा गरेकी हुन् ।

यसअघि गत सेप्टेम्बरमा भएको परीक्षणमा यो सुपरकारले प्रतिघण्टा ४९६.२२ किमीको स्पीड कायम गर्दै विश्वकै सबैभन्दा तीव्र गतिको ‘प्रोडक्सन कार’को रेकर्ड बनाएको थियो ।

यू नाइन एक्सट्रिमले जर्मनीको अटोमोटिभ टेस्टिङ पेपेनबर्गको परीक्षण मैदानमा उक्त कीर्तिमान बनाएको थियो । यसले बुगाटी चिरोन सुपर स्पोर्ट ३०० प्लसले कायम गरेको प्र्रतिघण्टा ४९०.५ किमीको रेकर्ड तोडेको थियो ।

यद्यपि, अर्को हाइपरकार निर्माता ‘कोनिगसेग’ले आफ्नो ‘जेस्को एब्सोल्युट’ मोडलले योभन्दा बढी गतिमा कुद्ने दाबी गरेको छ । तर, यो हालसम्म सिमुलेशन (कम्प्युटर आधारित परीक्षण)मा मात्र सीमित छ ।

उपाध्यक्ष स्टेला लीले बीवाइडीका ब्राण्ड र पीआर प्रबन्धक ली युनफेईसँग कुराकानी गर्दै गत सेप्टेम्बरमा यू नाइन एक्सट्रिमले नयाँ रेकर्ड बनाउँदा परीक्षण टोलीले उनलाई कारमा अझै पनि प्रयोग नगरिएको गति र सम्भावना बाँकी रहेको जानकारी दिएको बताएकी छिन् । त्यसपछि टोलीले यो रेकर्ड तोड्नका लागि दोस्रो प्रयासको माग गरेको थियो ।

उपाध्यक्षले याङवाङको परीक्षण टोलीलाई ‘दोस्रो मौका’ दिने वाचा गरेकी हुन् । साथै, दर्शकहरूलाई नोभेम्बरमा यू नाइन एक्सट्रिमको दोस्रो दौडको पर्खाइमा रहन आग्रह गरेकी छिन् ।

बीबीसीको टप गियरले गरेको रिपोर्ट अनुसार यू नाइन सुपरकारले गत सेप्टेम्बरमा रेकर्ड तोड्ने बेला टेस्ट ड्राइभर मार्क बासेङसँग गाडीको स्पीड कम गर्नु अघि अझै १.५ सेकेण्डको फुल थ्रोटल समय बाँकी रहेको देखाएको थियो ।

याङवाङ टोलीले नोभेम्बरको दौड पनि एटीपी टेस्ट ट्रयाकमै गर्ने अपेक्षा गरिएको छ । जुन दुईवटा ४ किमी सीधा ट्रयाक खण्डहरू भएको १२.३ किमीको उच्च गतिको अण्डाकार ट्रयाक हो । कार, चालक र ट्रयाक पहिल्यै आफ्नो चरम सीमामा पुगिसकेको अवस्थामा अब यू नाइनले ५०० प्रतिघण्टाको दाबी हासिल गर्न सक्छ कि सक्दैन, त्यो हेर्न भने नोभेम्बरसम्म कुनुपर्नेछ ।

यस्तो छ यू नाइन एक्सट्रिम

यू नाइन एक्सट्रिम याङवाङ यू नाइन सुपरकारको एक उत्कृष्ट प्रदर्शन भेरियन्ट हो । यो मोडलमा गतिलाई तीव्र बनाउन र हावाको अवरोध कम गर्न ठूलो कार्बन फ्रन्ट स्प्लिटर, रियर डिफ्युजर, डुअल च्यानल हुड र अग्लो स्वान नेक रियर स्पोइलर जडान गरिएको छ।

बीवाइडीको क्वाड मोटर ई फोर (यि सि फाङ) प्लेटफर्ममा आधारित यस कारले २,९७७ हर्सपावर शक्ति प्रदान गर्छ । यसले प्रतिटन १,२०० हर्सपावर प्रदान गर्दछ । यसको टर्क भेक्टरिङ प्रणालीले प्रतिसेकेण्ड १०० पटकसम्म सन्तुलन मिलाउने गर्छ।

प्रमुख पर्फर्मेन्स फ्ल्यागशिप भएकोले बीवाइडीले यसमा अन्य प्रतिष्ठित प्रविधिहरू पनि समावेश गरेको छ । यसमा बीवाइडीको चर्चित ‘ब्लेड ब्याट्री’ सँगै डुअल लेयर कुलिङ प्रविधि राखिएको छ । जसले ट्रयाकमा तीव्र गतिमा दौडिँदा समेत ब्याट्रीलाई तात्न दिँदैन । यसको एलएफपी प्याकले ३० सीसम्मको डिस्चार्ज दरका साथ ट्रयाक सेसनहरू धान्न सक्छ।

मानक यू नाइनमा बीवाइडीको डिसस एक्स एक्टिभ सस्पेन्सन रहेको छ । जसले भाइरल डान्स र हप (उफ्रिने) ट्रिक्सहरू गर्न सक्षम बनाउँछ । एक्सट्रिम भेरियन्टमा भने यसले ग्रिप र ह्यान्डलिङ बढाउन भर्टिकल गतिलाई नियन्त्रण गर्छ । जसले २,४८० केजीको बडीलाई सधैं सन्तुलित राख्छ।

चाइना ईभी डाटाट्रयाकरका अनुसार याङवाङले जुन २०२६ मा आन्तरिक रूपमा ४५५ युनिटहरू डेलिभर गरेको थियो। बीवाइडीको फ्ल्यागशिप ब्रान्ड भएकोले यसले ठूलो परिमाणमा कारहरू बेच्ने अपेक्षा गरिँदैन । यद्यपि, याङवाङले हरेक महिना १०० प्रतिशतभन्दा बढीको निरन्तर वार्षिक वृद्धि गरिरहेको छ ।

२०२६ बेइजिङ अटो शोमा ‘यू नाइन एक्सट्रिम’ करिब ४२ करोड रुपैयाँमा बिक्री भएको थियो ।


Back_to_top