काठमाडौं । बाढिपहिरोका कारण देशभरका आधादर्जन मुख्य सडक अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार बुधबार बिहानसम्म कोशी, बागमती र लुम्बिनी प्रदेशका ६ सडक अवरुद्ध रहेका हुन् । त्यस्तै, ६ सडक एकतर्फी मात्र संचालनमा छन् ।
प्रहरीका अनुसार अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । इलामको राजदुवालीमा सडक भासिँदा झापादेखि ताप्लेजुङसम्मको सडक बन्द भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडाँमा पहिरो आउँदा कान्तिलोकपथ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा अरिनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
त्यस्तै, सम्भावित बाढीपहिरोका कारण बीपी राजमार्गको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्ड र कान्तिलोकपथ (हेटौंडा-ठिंगन-बागमती)मा सवारी साधन संचालनमा रोक लगाइएको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका २, ढुंग्रेखोलामा पहिरो खस्दा सालझण्डी ढोरपाटन सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


