आकर्षक लुक्स र नयाँ टर्बो इन्जिनमा आउँदै फेसलिफ्ट ब्रेजा, बुकिङ खुल्यो

काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित कम्प्याक्ट एसयूभी ब्रेजाको फेसलिफ्ट मोडलको बुकिङ खुलाएको छ ।

कम्पनीले नयाँ प्रविधि, परिमार्जित स्टाइल र थप फिचर्सका साथ ल्याउन लागेको नयाँ ब्रेजाको भारतीय बजारमा बुकिङ खुलाएको हो । कम्पनीले नयाँ ब्रेजा जुलाई २३ मा सार्वजनिक गर्दैछ ।

ग्राहकहरूले ११,००० भारतीय रुपैयाँ तिरेर बुकिङ गर्न सक्नेछन् । सन् २०१६ मा पहिलो पटक सार्वजनिक भएको ब्रेजा १० वर्षपछि ठूलो अपग्रेड भएर आउन लागेको हो ।

कम्पनीले ब्रेजा फेसलिफ्ट मोडलमा धेरै कस्मेटिक परिवर्तनसँगै आधुनिक फिचरहरू थपेर ल्याएको छ । कम्पनीले नयाँ ब्रेजामा परिमार्जित फ्रन्ट फेसिया, नयाँ एलईडी लाइट र नयाँ डिजाइनको एलोय ह्वील दिएको छ । साथै, फेसलिफ्ट मोडललाई पुरानो संस्करण भन्दा फरक देखाउन नयाँ रङका विकल्पहरू पनि थपेको हुनसक्छ ।

नयाँ ब्रेजाको क्याबिनमा अझ आर्कषक र प्रिमियम बनाएको छ । यसमा हाल उपलब्ध ९ इन्चको स्क्रीनको सट्टा ठूलो १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम रहनेछ । यो नयाँ डिस्प्लेले वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई निरन्तरता दिनेछ।

साथै, यसमा नयाँ इन कार कनेक्टेड प्रविधि, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जिङ, क्रुज कन्ट्रोल र टप भेरियन्टहरूमा हेड अप डिस्प्ले जस्ता सुविधाहरू पनि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

सुजुकीले यस पटक गाडीको व्यवहारिकतामा पनि सुधार गर्ने अपेक्षा गरिएको छ । पुराना मोडलहरूमा सीएनजी सिलिण्डरले डिकीको सबै ठाउँ ओगट्ने गरेकोमा नयाँ ब्रेजामा अण्डर फ्लोर सीएनजी ट्यांक राखिएको छ। यसले गर्दा सीएनजी भर्सनमा पनि ब्यागेज र सामान राख्नका लागि पर्याप्त स्पेस उपलब्ध हुनेछ ।

अर्को महत्त्वपूर्ण अपडेट भनेको हालको ५ स्पीड म्यानुअल ट्रान्समिसनको सट्टा ६ स्पीड म्यानुअल ट्रान्समिसन उपलब्ध हुनु हो । जसले गर्दा राजमार्गहरूमा गाडी चलाउन थप सहज र प्रभावकारी हुनेछ।

फेसलिफ्ट ब्रेजामा हालको पावरट्रेनसहित नयाँ टर्बो इन्जिनमा पनि आउने सम्भावना छ । यसमा पहिलेकै १.५ लिटर नेचुरली एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिन प्रयोग गरिनेछ । जसमा म्यानुअल र अटोमेटिक दुवै ट्रान्समिसनका विकल्पहरू रहने छन्।

साथै, कम्पनीले युवा पुस्तालाई लक्षित गर्दै फेसलिफ्ट ब्रेजा १.० लिटरको शक्तिशाली टर्बो पेट्रोल इन्जिनमा पनि ल्याउने बलियो सम्भावना छ । जसले १००पीएससम्मको पावर दिनेछ।

ब्रेजा मारुती सुजुकीको सबैभन्दा बढी बिक्री हुने एसयूभीमध्ये एक हो । १० वर्षको अवधिमै १४ लाखभन्दा बढी युनिटहरू बिक्री भइसकेका छन्।

नयाँ ब्रेजाले बजारमा टाटा नेक्सन, हुण्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्री एक्सओ , स्कोडा काइलाक, टोयोटा टाइसोर, मारुती सुजुकी फ्रंक्स र रेनो काइगरसँग सिधा प्रतिस्पर्धा गर्नेछ।

नेपालमा पनि मारुती सुजुकी ब्रेजा फेमिली एसयूभीका रूपमा निकै लोकप्रिय छ । भारतीय बजारमा लन्च हुने बित्तिकै फेसलिफ्ट ब्रेजा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।


Back_to_top