बीवाइडीको सुपरकारमा उच्च आकर्षण, २४ घण्टामै लोभ लाग्दो बुकिङ

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाइडीको प्रिमियम ब्राण्ड डेन्जाको इलेक्ट्रीक सुपरकार Denza Z मा उच्च आकर्षण देखिएको छ ।

कम्पनीले प्रि बुकिङ खुलाएको २४ घण्टामै १ हजार युनिट अर्डर पाएको हो । डेन्जाले मंगलबार वेइबोमार्फत दिएको जानकारी अनुसार प्रि-सेल्स सुरू भएको २४ घण्टाभित्रै डेन्जा जेडको कुल (चीन र विश्व बजार) अर्डर १ हजार युनिट नाघेको हो । जुन सुपरकार सेग्मेन्टमा निकै लोभलाग्दो बुकिङ हो ।

यद्यपि, यो अर्डर गाडीको अन्तिम डेलिभरी हुने बेलासम्म कस्तो रहन्छ भन्ने आंशका छ । तर, यसले उच्च क्षमताका इलेक्ट्रीक गाडी खरिदकर्ताहरू माझ डेन्जा जेडले ध्यान तान्न सफल भएको देखाउँछ।

कम्पनीले यसैसाता बेलायतको प्रख्यात ‘गुडवुड फेस्टिभल अफ स्पीड’मा डेन्जा जेड सुपरकार लन्च गरेको थियो । कम्पनीले चीनमा यस सुपरकारको मूल्य १ लाख ३०० अमेरिकी डलर र वेलायत लगायतका विदेशी बजारमा १ लाख ८४ हजार ८०० डलर तोकेको छ ।

यो हाइपरकारमा १,५८२ हर्सपावर शक्ति दिने तीनवटा मोटर रहेका छन् । यसको पछाडिको एक्सेलमा दुईवटा स्वतन्त्र इलेक्ट्रीक मोटरहरू छन् । जुन प्रति मिनेट ३० हजार पटकसम्म घुम्न सक्छन्।

पावर क्षमताको आधारमा डेन्जा जेड बीवाइडी समूहकै सबैभन्दा शक्तिशाली मोडलमध्ये एक हो । कम्पनीका अनुसार डेन्जा जेडले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केवल १.९६ सेकेण्डमै भेटाउन सक्छ । यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा रहेको छ ।

डेन्जा जेड दुई ढोकायुक्त चार सिट क्षमताको स्पोट्र्स कार हो । यो हार्डटप र कनभर्टिबल दुवै संस्करणमा उपलब्ध हुनेछ । यसको विशेष रेसिङ मोडेलको लम्बाइ ४७८० एमएम र स्पाइडर कन्भर्टिबल मोडेलको ४,८६५ एमएम छ । दुवैको चौडाइ १९९० एमएम र उचाइ १३५० एमएम छ । यसमा २७८० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

यसमा ७६ किलोवाट आवरको दोस्रो पुस्ताको फ्ल्याट प्याक लिथियम आयरन फस्फेट ब्लेड ब्याट्री प्याक राखिएको छ । यसले डुअल गन फ्ल्यास चार्जिङ लेआउटलाई सपोर्ट गर्छ । जसले मात्र ९ मिनेटभित्र ब्याट्रीलाई १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न सक्छ भने मात्र ५ मिनेमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन्छ ।

यो कारको सबैभन्दा ठूलो विशेषता यसको स्टियर बाय वायर फिनड्रिम्स च्यासिस लेआउट हो । यस प्रविधिमा परम्परागत गाडीहरूमा जस्तो भौतिक वा मेकानिकल स्टियरिङ लिंकहरू हुँदैनन् । जसले गर्दा ट्रयाकमा गाडी मोड्दा वा कुदाउँदा यसको रेस्पोन्स निकै उत्कृष्ट र सटिक हुन्छ । यसमा सस्पेन्सन सेटअप भने डिसुस एम म्याग्नेटोरियोलोजिकल एक्टिभ सस्पेन्सन छ ।


Back_to_top