काठमाडौं । नेपालको प्रतिष्ठित व्यवसायिक घराना लक्ष्मी ग्रुप अटो व्यवसाय विस्तारमा आक्रमक बन्दै गएको छ । हाल आधा दर्जन ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको यस ग्रुपले चाँडै तीन नयाँ प्रिमियम ब्राण्ड नेपाल भित्र्याउने भएको हो ।
नेपालमा बढ्दो विद्युतीय सवारी र प्रिमियम ब्राण्डको मागलाई मध्येनजर गर्दै ग्राहकलाई उत्कृष्ट विकल्प दिलाउन नयाँ ब्राण्ड ल्याउन लागेको हो । २ वर्षअघि मात्रै केई र फोरथिङ ईभी ब्राण्ड नेपाल ल्याएको घरानाले थप तीन नयाँ चिनियाँ ब्राण्ड नेपाल ल्याउन लागेको हो ।
लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई मोबिलिटीले चिनियाँ प्रिमियम ब्राण्ड बीएआइसी, आरफक्स र जेटोर ब्राण्ड नेपाल ल्याउने भएको हो । कम्पनीले यी नयाँ ब्राण्डका उत्पादन साउनमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो मार्फत बजारमा इन्ट्री गराउने तयारी गरिरहेको छ ।
कम्पनीले ल्याउने बीएआइसी ब्राण्ड चीनको सरकारी स्वामित्वको सबैभन्दा पुरानो प्रतिष्ठित सरकारी अटोमोबाइल ग्रुप हो । यसले आधुनिक प्रविधियुक्त र फ्युचररिस्टिक डिजाइनका एसयूभीहरू उत्पादन गर्दै आएको छ ।

कम्पनीले बीएआइसीको बीजे–३०ई हाइब्रिड एसयूभी अफरोड एसयूभी नेपाल ल्याउने भएको हो । यो बक्सी डिजाइन, उचाइ भएको बडी, चौडा स्टान्स र रग्ड स्टाइलिङको अफरोड एसयूभी हो ।
स्टङ हाइब्रिड प्रविधिको बीजे–३०ईमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन छ । साथै, इलेक्ट्रीक मोटर पनि पाउन सकिन्छ । अल ह्वील ड्राइभ मोडलको रूपमा नेपाल आउने बीजे–३०ईमा १.६७ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको छ ।
त्यस्तै, कम्पनीले बीएआइसी ग्र्रुप अन्तर्गतको प्रिमियम र लक्जरी इलेक्ट्रीक ब्राण्ड आर्कफक्सको टी वान इलेक्ट्रीक ह्याचब्याक नेपाल ल्याउँदै छ । यो ईभी चीनमा ७० किलोवाट र ९५ किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ । नेपालमा कुन मोटर आउँछ भन्ने खुलाइएको छैन ।
आरफक्स टी वानमा ४२.३ किलोवाट आवर र ५५.६ किलोवाट आवरको एलएफपी ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ४२५ किमी र ५५० किमी रेन्ज प्रदान दिन्छ ।
त्यसैगरी, कम्पनीले चीनको सरकारी स्वामित्वको चेरी अटोमोबाइल अन्तर्गतको प्रिमियम एसयूभी ब्राण्ड जेटोर पनि भित्र्याउने भएको छ । जेटोरले विशेषगरी ‘ट्राभल प्लस’ अवधारणा अर्थात् पारिवारिक यात्रा, लामो टुर र क्याम्पिङ मन पराउने ग्राहकहरूलाई लक्षित गर्दै ठूला, आरामदायी र बलिया गाडीहरू उत्पादन गर्छ ।
लक्ष्मी ग्रुपले नेपालमा कुन मोडल ल्याउँदै भन्ने खुलाएको छैन । विश्व बजारमा जेटोरका एक्स ५०, एक्स ७०, एक्स ९०, टी २ जस्ता मोलड उपलब्ध छन् । तीमध्ये नेपालको भूगोल सुहाउँदो अफ रोड एसयूभी टी २ ल्याउने अनुमान छ ।
लक्ष्मी ग्रुप साढे ३ दशकदेखि नेपालमा अटोमोबाइल व्यवसायमा आबद्ध छ । याे ग्रुपले हाल कोरियन ब्राण्ड हुन्डाई, जर्मन ब्राण्ड बीएमडब्लू, भारतीय ब्राण्ड एसएमएल इसुजु, चिनियाँ ईभी ब्राण्ड केई र फोरथ्रिङका गाडी बिक्री गर्दै आएको छ । देशव्यापी बलियो नेटवर्क, बिक्रीपछिको सेवा, स्पेयर पार्टको सहज उपलब्धताले कम्पनीप्रति ग्राहकको अटुट विश्वास देखिन्छ ।
लक्ष्मी ग्रुपले नेपाली अटो क्षेत्रमा नयाँ मानक बनाउँदै हाल स्वदेशमै चारपाँग्रे सवारी एसेम्बल गरिरहेको छ । लक्ष्मीको मोटर्स कर्पोरेसनले नवलपरासीको रामग्राममा प्लाण्ट स्थापन गरी हुन्डाईको क्रेटा र भेन्यु मोडल एसेम्बल गरिरहेको छ ।


