स्कुटरको पुराना ब्याट्री व्यवस्थापनमा जुट्यो एथर, यसरी गर्दैछ काम

काठमाडौं । भारतको विद्युतीय दुईपाँग्रे सवारी निर्माता एथर इनर्जीले प्रयोग अवधि सकिएका (इन्ड अफ लाइफ) ब्याट्री व्यवस्थापनका लागि ‘लीको मेटेरियल्स’सँग साझेदारी गरेको छ ।

कम्पनीले प्रयोग भइसकेका लिथियम-आयन ईभी ब्याट्रीको संकलन, रिसाइकलिङ तथा मूल्यवान सामग्री पुनःनिर्माणका लागि लीको मेटेरियल्ससँग रणनीतिक सहकार्य गरेको हो ।

कम्पनीका अनुसार यस साझेदारी अन्तर्गत एथरका विद्युतीय स्कुटरमा प्रयोग भई आयु समाप्त ब्याट्रीहरू कर्नाटकस्थित लीको मेटेरियल्सको रिसाइकलिङ प्लाण्टमा पठाइने छ । त्यहाँ ब्याट्रीको अवस्था अनुसार दोस्रो जीवनका लागि पुनःप्रयोग गरिने वा त्यसभित्र रहेका लिथियम, निकेल, कोबाल्ट लगायत मूल्यवान धातु निकालेर पुनः ब्याट्री उत्पादन श्रृंखलामा प्रयोग गरिनेछ ।

एथरका निजी ग्राहकहरूका स्कुटर तथा कम्पनीको आफ्नै फ्लीटमा प्रयोग भएका सबै ब्याट्रीहरू यो कार्यक्रम अन्तर्गत समेटिनेछन् । यद्यपि, यसमा ग्राहकले ब्याट्री सिधै लीको मेटेरियल्स कम्पनीलाई बिक्री गर्न सक्ने छैनन् ।

एथरले कुनै ब्याट्रीको आयु समाप्त भएको पुष्टि गरेपछि मात्रै आफ्नो आधिकारिक सर्भिस सेन्टरमार्फत ती ब्याट्रीहरू संकलन गरिने बताएको छ । त्यसपछि लीको मेटेरियल्सले आफ्नै रिभर्स लजिस्टिक्स नेटवर्कमार्फत ब्याट्रीहरू सर्भिस सेन्टरबाट संकलन गरी रिसाइकलिङ केन्द्रसम्म पुर्याउनेछ ।

साथै, डिजिटल ट्रयाकिङ प्रणाली मार्फत संकलनदेखि ढुवानी र रिसाइकलिङ केन्द्रमा प्राप्त नभएसम्म सम्पूर्ण प्रक्रियाको निगरानी तथा ट्रेसबिलिटी सुनिश्चित गर्नेछ ।

रिसाइकलिङ केन्द्रमा पुगेपछि प्रत्येक ब्याट्रीको विस्तृत प्राविधिक परीक्षण गरिनेछ । यस क्रममा स्टेट अफ हेल्थ (एसओएच), स्टेट अफ चार्ज (एसओसी) तथा इन्टरनल रेसिस्टेन्स जस्ता महत्वपूर्ण मापदण्डको मूल्यांकन गरिनेछ । परीक्षणको नतिजाअनुसार पछि मात्रै ब्याट्रीलाई दोस्रो जीवनका लागि पुनःप्रयोग गर्ने वा पूर्ण रूपमा रिसाइकल गर्ने निर्णय लिइने कम्पनीले जनाएको छ ।

लीको मेटेरियल्सका अनुसार कुनै निश्चित प्रतिशत ब्याट्री क्षमता बाँकी रहेकै आधारमा आयु समाप्त भएको निर्णय गरिँदैन । ब्याट्रीको समग्र हेल्थ, लाइफ, कार्यसम्पादन तथा विद्युतीय अवस्थालाई आधार बनाएर मात्रै अन्तिम निर्णय लिइन्छ ।

यो सहकार्य भारतको ब्याट्री वेस्ट म्यानेज्मेन्ट रुल्स २०२२ अनुरूप रहेको छ । उक्त नियमले ब्याट्री उत्पादनदेखि पुनःप्रयोग तथा रिसाइकलिङसम्म उत्पादकको विस्तारित जिम्मेवारी (एक्सटेन्डेड प्रोडुसर रेस्पोन्सिबिलिटी-ईपीआर) सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

दुवै कम्पनीका अनुसार प्रभावकारी ब्याट्री रिसाइकलिङले सन् २०५० सम्म भारतको लिथियम, निकेल र कोबाल्टको आवश्यकताको ४० प्रतिशतभन्दा बढी हिस्सा घरेलु रूपमा पूर्ति गर्न सहयोग पुर्याउन सक्छ । यसका साथै रोजगारी सिर्जना, आयातमा निर्भरता घटाउने तथा कार्बन उत्सर्जन कम गर्न पनि यो पहलले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

लीको मेटेरियल्सले आफ्नो रिसाइकलिङ प्रविधिमार्फत प्रयोग भइसकेका लिथियम-आयन ब्याट्रीबाट ९५ प्रतिशतसम्म सामग्री रिकोभरि गर्न सक्ने दाबी गरेको छ ।


Back_to_top