बीवाइडी एटो-२ एसेन्सियल : मूल्य कम, प्रिमियमकै फिचर

काठमाडौं । बीवाइडीले नेपाली बजारमा एटो २ को नयाँ एसेन्सियल भेरियन्ट थपेको छ । एटो २ प्रिमियमकै सुविधा र प्रविधि कायम राख्दै ब्याट्री साइज घटाएर कम मूल्यमा बिक्री गर्नेगरी एसेन्सियल भेरियन्ट नेपाल ल्याएको हो ।

बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले एटो २ एसेन्सियलको मूल्य ४५ लाख ९५ हजार रुपैयाँ तोकेको छ । यसको प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ छ । त्यसको मतलब एसेन्सियल खरिद गर्ने ग्राहकले प्रिमियमको तुलनामा ३ लाख ४ हजार रुपैयाँ कम तिर्नुपर्छ ।

कम मूल्य बापत उसको ब्याट्री साइज भने सानो हुन्छ । एसेन्सियल भेरियन्टमा ४५.१२ किलोवाट आवरको ब्याट्री छ । जबकि प्रिमियम भेरियन्टमा ५१.१३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

ब्याट्री साइज घटेसँगै रेन्ज पनि घट्ने नै भयो । डब्लूएलटीपी रेन्ज साइकल अनुसार एसेन्सियलले ३१२ किलोमिटर रेन्ज दिन्छ । जबकि प्रिमियम भेरियन्टले सिंगल चार्जमा ३४५ किलोमिटर यात्रा गर्न सकिन्छ ।


एटोको सबै भेरियन्टमा १०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २९० एनएम टर्क प्रदान गर्छ । यो एसयूभीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन करिब ९ सेकेण्ड लाग्छ ।
एटो २ को अर्को महत्वपूर्ण पक्ष यसमा रहेको २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स हो । नेपालका खराब बाटाहरूमा पनि यसलाई राम्रोसँग चलाउन सकिन्छ । यसमा १७ इन्चको ह्वील आउँछ ।

एटो २ एसेन्सियलको ड्यासबोर्डमा १२.८ इन्चको रोटेड स्मार्ट टचस्क्रीन दिइएको छ । बीवाइडी एपमार्फत गाडीको अवस्था हेर्न, केही कार्य नियन्त्रण गर्न तथा डिजिटल साँचो प्रयोग गर्न सकिने सुविधा पनि ग्राहकले पाउने छन् ।

सुरक्षाको हिसाबले पनि एटो-२ बलियो छ । एडास लेभल २ र त्यस भित्रका बलिया फिचरको फाइदा चालकले पाउने छन् । गाडी निर्माण गर्दा ८० प्रतिशतभन्दा बढी उच्च क्षमताको स्टिल प्रयोग गरिएको कम्पनीको दाबी छ ।


मासिक किस्ता कति ?

४५ लाख ९५ हजार रुपैयाँ मूल्यको एटो २ एसेन्सियललाई ४० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्दा ग्राहकले सुरूमा १८ लाख ३८ हजार रुपैयाँ तिर्नुपर्छ ।

बाँकी २७ लाख ५७ हजार रुपैयाँ बैंकबाट ऋण लिएर ७ वर्ष अर्थात् ८४ महिनामा तिर्ने र वार्षिक ब्याजदर ५.९ प्रतिशत कायम रहने हो भने मासिक समान किस्ता करिब ४० हजार १४४ रुपैयाँ पर्छ ।


Back_to_top