काठमाडौं । नेपालमा नै उत्पादन भएको आइएसओ सर्टिफाइड हेलमेट बजारमा किन्न पाइन्छ । मयूर स्टील इन्डष्ट्रिले यती ब्रान्डमा उत्पादन गरेको हेलमेट आइएसओ सर्टिफाइड रहेको छ ।
बुटवलमा रहेको व्यवसायीक घराना आवास ग्रुपले हेलमेट तथा मोटरसाइकल लेगगार्डसमेत उत्पादन गर्दै आएको छ । मोटरसाइकलमा पछाडि बस्नेले पनि अनिर्वाय हेलमेट लगाउनु पर्ने नयाँ नियमको तयारीमा रहँदा नेपालमा नै गुणस्तरिय हेलमेट उत्पादन भइरहेको हो ।
कम्पनीले हाफ, फुल तथा मोटोक्रस हेलमेटहरु उत्पादन गर्दै आएको जानकारी दियो । कम्पनी स्रोतका अनुसार अबको केही दिन भित्र नै तीन मोडलका नयाँ हेलमेट पनि बजारमा ल्याउने तयारी भइरहेको छ ।
‘हामी दैनिक एक हजार दुई सय यूनिट हेल्मेट उत्पादन गरिरहेका छौं । हाम्रा हेल्मेट आइएसओ सर्टिफाइड छन् भने मूल्य पनि निकै सुलभ राखेका छाैं’ भन्दै आवास ग्रुपका अध्यक्ष महेश थैव भन्छन्, ‘हाम्रा उत्पादन विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरका छन् ।’
यती ब्रान्डका हेलमेट किन्ने ग्राहकले आफ्नो आवश्यकता र क्षेमता अनुसार १ हजार १०० देखि ७ हजार ५०० रुपैयाँसम्ममा किन्न सक्ने छन् । साथै, केही समय अगाडि २ नयाँ मोडलका फुल हेलमेट बजारमा ल्याएको कम्पनीले अबको १५ दिन भित्र मोटोक्रस हेलमेट समेत बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

