काठमाडौं । यदि तपाई विद्युतीय कारमा यात्रा गर्दै हुनुहुन्छ र बीच बाटोमा चार्ज सकिएर समस्यामा पर्नु भएको छ भने अब चार्जर नै तपाई भएको स्थानमा ल्याउन सकिन्छ ।
नेपाली कम्पनी यात्री इनर्जीले मोवाइल चार्जर निर्माण गरेर संचालनमा ल्याएको हो । यात्रीले विगत एक वर्षदेखि चार्जिङ पूर्वाधार निर्माणमा काम गर्दै आएको छ । उसलाई आर्थिक सहयोग भने यूएसएडले गर्दैै आएको छ ।
कम्पनीले मोवाइल चार्जिङको लागि प्रयोग गरेको साधन पनि विद्युतीय नै रहेको जनाएको छ । विद्युतीय गाडीमा चार्जर जडान गरेरमोवाइल चार्जर बनाइएको हो । उक्त चार्जरले मोटरसाइकल, स्कुटरदेखि सीसीएस–टु र जिबिटी दुबै किसिमका चार्जिङ पार्ट भएका साधन चार्ज गर्न मिल्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नै टेक्नोलोजी प्रयोग गरेर १२० किलोवाट क्षमतासम्मका चार्जर देशका विभिन्न कुनाहरुमा तयार गरेको छ । कुरिनटारम बनेको चार्जिङ स्टेशन सबैभन्दा ठूलो छ ।
‘यूएसएड उर्जा नेपाल प्रोग्राम’ अन्तर्गत बनेको १७ वटा चार्जिङ नेटवर्क निर्माण सम्पन्न भइसकेको छ । युवा इन्जिनियरहरुको समूहले बनाइरहेको उक्त चार्जिङ नेटवर्क ‘स्टेट अफ आर्ट’को रुपमा रहे को छ ।
कम्पनीले चार्जिङको लागि चाहिने हाडवयर मात्रै बाहिरबाट ल्याएको हो । अरु सम्पूर्ण कुरा आफ्नै रहेको यात्रीको भनाई छ । चार्जिङ म्यानेजमेन्ट सिस्टम समेत यात्रीले तयार पारेको हो ।


