काठमाडौं । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोले १२५ सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले पल्सर एन सिरिजमा आधारित १२५ सीसीको मोटरसाइकल ल्याउन लागेको हो ।
कम्पनीले बजाज पल्सर एन १२५ मोटरसाइकल भारतमा परिक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् । तस्बिरमा देखिए अनुसार एन १२५ मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मोनोसक सस्पेन्सन दिइएको छ ।
सुरक्षाको लागि अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक पाउन सकिन्छ । यस मोटरसाइकलको चेसिस र समग्र डिजाइन पल्सर एन १५० सँग मिल्दोजुल्दो देखिन्छ ।
बजाजले यसमा सबै एलइडी लाइट, डोमिनारको जस्तै हेड्लाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलसीडी डिस्प्ले दिनेछ । यसको डिस्प्लेमा स्पीडोमिटर, गियर पोजिसन, ट्रिप मिटर, ओडोमिटर, आरपीएम, टाइम, प्mयुलको जानकारी समेत पाउन सकिन्छ । साथै, ब्लुटुथ कनेक्ट सिस्टम पनि रहने छ ।
नेकेड डिजाइनमा तयार भएको नयाँ मोटरसाइकलमा आरामदायी सिट, १७ इन्चको अलोय ह्वील, ट्युबलेस टायर, फराकिलो ह्यान्डलबार, स्पोर्टी रियर भ्यू मिरर, अन्डरबेली एग्जस्ट, सानो किसिमको टेल सेक्सन रहने छन् ।
बजाज पल्सर एन १२५मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड, एसओएचसी इन्जिन हुनेछ । उक्त इन्जिनले अधिकतम १२ ब्रेकहर्स पावर र ११ एनएम टर्क प्रदान गर्छ ।


