काठमाडौं । जीकरको लागि नेपालको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले जीकर एक्सको मूल्य घटाएको छ । कम्पनीले सुरुमा ८४ लाख ९९ हजार मूल्य राखेर बिक्री सुरु गरेको जीकर एक्सको मूल्य ६९ लाख ९९ हजारमा झारेको हो ।
यसअघि पनि एकै पटक १० लाख मूल्य कटौती गरेर ७४ लाख ९९ हजार बनाएको कम्पनीले फेरी ५ लाख रुपैयाँले मूल्य घटाएको हो । चिनियाँ अटोमोबाइल ग्रुप जिलीको प्रिमियम ब्राण्ड जिकर एक वर्ष अगाडि अटो शो मार्फत नै नेपालमा बिक्री सुरु भएको थियो ।
आजबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पोको अवसर पारेर जीकर एक्सको मूल्य घटाइएको हो । जिकर एक्स निकै पावरफुल २०० किलोवाटको इलेक्ट्रीक मोटर र रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध मोडल हो ।
डब्लूएलटीपीले ४४० किलोमिटर रेन्ज दिने प्रमाणित गरेको जीकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री रहेको छ । यसले ११ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । डिसी चार्जर भने १५० किलोवाटसम्म सपोर्ट गर्छ ।
जीकरको सस्टेनेवल एक्सपेरियन्स आर्किटेक्चरमा बनेको एक्स मोडलमा एड्भान्स ड्राइभर एसिस्ट सिस्टम रहेको छ । एरोडाइनामिक्स डिजाइन, कटिङ एज टेक्नोलोजीको प्रयोग पानारोमिक शनरुफ जस्ता फिचरले यसलाई मोर्डन बनाएको छ ।
क्रसओभर एसयूभीमा डबल एज्ड डिआरएल, क्लोज अफ ग्रिलले गाडीलाई निकै आकर्षक देखाएको छ । यसमा जिकरको इन्टेलिजेन्ट बी–पीलरको प्रयोग भएको छ । त्यसको सहायताले गाडीमा प्रबेश गर्नुअघि नै महत्वपूर्ण जानकारी डोर ह्याण्डलमै हेर्न सकिन्छ ।
यामाहाको अडियो सिस्टम, भ्यान्टिलेटेड सिट, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ८.८ इन्चको इन्ट्रूमेन्ट क्लष्टर, चालकले गाडीसँग कुरा गर्न मिल्ने ककपिट यसको भित्र पाउन सकिन्छ ।

