काठमाडौं । साइमेक्स इंक प्रालिले बीवाइडीको नयाँ ह्याचब्याक कार एटो-वान दुई भेरियन्टमा नेपाल आएको छ । विभिन्न देशहरूमा फरक नामबाट बिक्री हुँदै आएको एटो-वान नाइमा नेपाल मोविलिटी एक्स्पोबाट बिक्री सुरू भएको हो ।
चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा भने एटो-वान नामबाट उपलब्ध भएको हो । चीनमा यसको बिक्री निकै राम्रो छ । नेपाली बजारमा पनि धेरैले प्रतिक्षा गरिरहेको मोडल हो ।
एटो-वान स्ट्याण्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्टमा आएको छ । डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले स्ट्याण्डर्ड रेन्ज भनेको डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाट अवार र लङ रेन्ज प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाट अवारको ब्याट्री प्याक दिएको छ । यी दुई भेरियन्टको रेन्ज क्रमशः २३० र ३०० किलोमिटरको हुने एनइडीसीले प्रमाणित गरेको छ ।

यसमा ४५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने ह्याचब्याक कारको रूपमा यसको बिक्री सुरू भएको हो ।
इन्ट्री लेबल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा धेरै समयदेखि प्रतिक्षा गरिएको मोडल हो । सिगलको लम्बाइ ३७८० एमएम, चौडाइ १७१५ एमएम, उचाइ १५८० एमएम र ह्वीलबेस २५०० एमएम रहेको छ ।

मिलिमस्टिक डिजाइन रहेको बीवाइडी एटो-वानमा हाइटेक स्मार्ट ककपिट रहेको छ । यो कारमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने १०.१ इन्चको इन्टेलिजेन्ट टचस्क्रीन छ । यसमा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पाउन सकिन्छ ।

