काठमाडौं । सवारी तथा सवारीजन्य वस्तुको बिक्री तथा प्रदर्शनी गर्ने उद्देश्यले हरेक वर्ष नाडा अटो शो हुँदै आएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यो वर्ष भदौ १० गतेदेखि नाडा अटो शो २०१९ गर्दैछ ।
यो वर्षको अटो शो इलेक्ट्रीक गाडी मुख्य आकर्षणको रुपमा रहने अनुमान गरिएको छ । नेपाली बजारमा सवारी बिक्री गर्दै आएका विभिन्न कम्पनीहरुले इलेक्ट्रीक सवारी त्याउने तयारी गरि रहेका छन् ।
अटो शोको यो संस्करणमा करिब १ दर्जन इलेक्ट्रीक कार आउने अनुमान गर्न सकिन्छ । यहाँ तिनै मध्येका अटो शोमा राखिने इलेक्ट्रीक कार बारे यहाँ उल्लेख गरिएको छ ।
हुन्डाई कोना
हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पहिलो पटक कोना इलेक्ट्रीक कारलाई नाडा अटो शोमा शोकेस गर्नेछ । कम्पनीले केही महिना अगाडि नेपाली बजारमा ल्याएको कोना ८० यूनिटभन्दा बढी बिक्री भइसकेको छ ।

कोना नेपाली बजारमा दुई व्याट्री अप्सनमा उपलब्ध रहेको छ । एक पटकको फुल चार्जमा कोनाले ३५० देखि ४८० किलोमिटर रेञ्ज दिने कम्पनीले जनाएको छ ।
यसको नेपाली बजारमा मूल्य ५५ लाख ९६ हजार र ६५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
किया निरो
दक्षिण कोरियाली कार उत्पादक कम्पनी कियाले उत्पादन गरेको निरो इलेक्ट्रीक कार अटो शोमा मुख्य आकर्षणको रुपमा रहने छ । किया निरोले एक पटकको फुल चार्जमा ४ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । यो कारको सुरुवाति मूल्य ६६ लाख ९० हजार तोकिएको छ । यो कार कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले भित्र्याएको हो ।

दाय इलेक्ट्रीक
चिनियाँ इलेक्ट्रीक कार दाय नेपाली बजारमा दिगो ग्रुपले ल्याएको हो । दाय ब्रान्डका इभी दुई ब्याट्री अप्सनको साथ ल्याएको छ । लिड एसिड ब्याट्री र लिथीयम आयन ब्याट्रीका साथ आएको यो कारले १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।
दायका इलेक्ट्रीक कारल फुलचार्ज हुन ४ देखि १० घन्टासम्म लाग्ने छ । भदौ १० देखि हुने नाडा अटो शोमा १३ देखि १५ लाख रुपैयाँसम्ममा पाइने इलेक्ट्रीक कार दाय आकर्षणको रुपमा रहने अनुमान गरिएको छ ।
बीवाईडी एम–३
चिनियाँ इलेक्ट्रीक सवारी उत्पादक कम्पनी बीवाईडीले नाडा अटो शोमा मिनि मल्टि यूटिलिटी भेइकल (एमपीभी) एम–३ ल्याउने भएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी ल्याएको हो । मिनि एमपीभी एम–३ दुई सिट अप्सन ५ र ७ सिटरमा उपलब्ध हुनेछ । यो गाडीको सुरुवाति मूल्य करिब ५२ लाख रुपैयाँ पर्ने साइमेक्सले जनाएको छ ।
बीवाईडी एम–३ ले फूल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ ।
नेपाली बजारमा उपलब्ध अन्य इलेक्ट्रीक कार पनि अटो शोमा राखिने छन् । सरकारले इलेक्ट्रीक सवारीलाई प्राथमिकता दिने नीति लिएकाले अन्य कम्पनीहरुले पनि इलेक्ट्रीक सवारी ल्याउन लागि पर्ने देखिएको छ ।

एमजी इजेडएस
एमजीको इलेक्ट्रीक कार एमजी इजेडएस नेपाली बजारमा आउने भएको छ । एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ड मोटर्सले एमजी इजेडएस नाडा अटो शोमा ल्याउने भएको हो ।
कम्पनी एजेडएसको बुकिङ केही समय अघिदेखि लिँदै आएको छ । एमजी इजेडएसको मूल्य ५० लाख रुपैयाँ तोकिएको छ । एमजी इजेडएसले एक पटक फुल चार्ज गर्दा ३ सय ५० किलोमिटर दूरि तय गर्ने जनाइएको छ ।

