अल्टो र ड्याटसन रेडी गो कुन ठिक ? दशैंमा किन्दा यस्तो छ छुट

काठमाडौं । नेपाली बजारमा उपलब्ध सबैभन्दा कम मूल्यको कार मारुती सुजुकी अल्टो हो भने त्यसपछिको सस्तो कारमा ड्याटसनको रेडी गो रहेको छ ।

ड्याटसन रेडी गोमा ७९९ सीसी क्षमताको इन्जिन दिइएको छ भने अल्टोमा ७९६ सीसी क्षमताको इन्जिन रहेको छ । दुबै पेट्रोल इन्जिनयुक्त गाडी हुन् । भारतीय बजारमा अल्टोसँग प्रतिस्पर्धा गर्न नै ड्याटसनले रेडी गो उत्पादन गरेको हो ।

३५ वर्षको इतिहास अल्टोले बनाइ सकेको छ भने रेडी गो आक्रमक बजार बिस्तारमा रहेको छ ।

नेपाली बजारमा अल्टो सिजी मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ भने रेडी गो पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको छ ।

अल्टो उपत्यकाको सडकमा सबैभन्दा धेरै गुड्ने मोडल हो । यहाँका करिब १० हजार ट्याक्सी अल्टो चलिरहेका छन् । तर, नेपाल आएको करिब ४ वर्षमा प्राइभेट कारको रुपमा रेडी गोको बिक्री संख्यात्मक रुपले अत्यन्त राम्रो रहेको पायोनियर मोटो कर्पले जानकारी दिएको छ ।

पावर

करिब उस्तै इन्जिन क्षमता भएका यी दुई कारमा रेडी गोको इन्जिन बढी पावरफुल रहेको छ । यसमा रहेको इन्जिनले ५६७८ आरपीएममा ५३.६४ बीएच पावर प्रदान गर्छ भने अल्टोमा रहेको इन्जिनले ६००० आरपीएममा ४७.३ बीएच पावर प्रदान गर्छ । दुबै कारमा तीन सिलिन्डर इन्जिन युक्त छन् । भने दुबैमा समान ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।

माइलेज

माइलेजको मामलामा अल्टो केही अगाडि रहेको छ । अल्टोले प्रतिलिटर २४.७ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ भने रेडी गोले २२.७ किलोमिटर माइलेज दिने जनाएको छ ।

बुट स्पेश

बुट स्पेश रेडी गोमा बढी पाउन सकिन्छ । कम्पनीका अनुसार रेडी गोमा २२२ लिटरको बुट स्पेश उपलब्ध रहेको छ भने अल्टोमा १७७ लिटर क्षमताको बुट स्पेश छ ।

डायमेनसन

रेडी गोको लम्बाई ३४२९ एमएम रहेको छ भने अल्टो ३४४५ एमएम लामो छ । चौडाईमा रेडी गो अगाडि देखिन्छ । यसमा १५६० एमएमको चौडाई छ । उही अल्टोको चौडाई १४९० एमएम रहेको छ ।

उचाईमा पनि रेडी गो अग्लो छ । यसको उचाई १५४१ एमएम रहेको छ भने अल्टोको उचाई १४७५ एमएम रहेको छ । ग्राउन्ड क्लियरेन्स पनि रेडी गोको (१८० एमएम) धेरै छ । यद्यपी यो मानिस नचढ्दाको हो । तर, अल्टोको मानिस चढ्दा १६० एमएम रहेको छ ।

ह्वील वेस भने अल्टोको केही लामो छ । अल्टोमा २३६० एमएमको ह्वील वेस रहेको छ भने रेडी गोमा २३४८ एमएम रहेको छ ।

सुरक्षा

सुरक्षाको लागि दुबै कारमा एबीएस सुविधा उपलब्ध रहेको छ । दुबै कारमा सेन्टर लकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, चालक पट्टीको एयरव्याग, हेलोजिन हेड ल्याम्प, रियर सिट बेल्ट, साइड इम्प्याक्ट बीम, फ्रन्ट इम्प्याक्ट बीम, एड्जस्टेवल सिट, क्र्यास सेन्सर, इन्जिन चेकिङ वार्निङ, इबीडी, जस्ता फिचर रहेका छन् । अल्टोमा इन्जिन इमोविलाइजर उपलब्ध रहेको छ भने रेडी गोमा यो सुविधा छैन । रेडी गोमा सिट बेल्ट वार्निङ रहेको छ भने अल्टोमा यो सुविधा छैन ।

इन्टेरियर

दुबै कारमा इलोक्ट्रोनिक्स मल्टी ट्रिपमिटर उपलब्ध रहेको छ । साथै रोडी गोमा टेकोमिटर उपलब्ध छ भने अल्टोमा डिजिटल ओडोमिटर उपलब्ध रहेको छ । दुबैकारमा फेब्रिक अपहोलिस्टीक, ग्लोभ कम्पार्टमेन्ट उपलब्ध रहेको छ ।

मूल्य

मूल्यको हिसावले दुबै कार कम मूल्यका हुन् । मारुती सुजुकीले अल्टो स्टायडर्ड भेरियन्टको मूल्य १८ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एलएक्सआई भेरियन्टको मूल्य २० लाख ९९ हजार तोकेको छ ।

रेडी गोलाई पायोनियर मोटोकर्पले १९ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री वितरण गरिरहेको छ ।

दशैं आफर

मारुती सुजुकी अल्टो दशैंमा किन्न चाहने ग्राहकले सिधा नगद छुटको रुपमा ८० हजार रुपैयाँ पाउने छन् भने स्क्रायाच कार्ड मार्फत अर्को एकलाखसम्म छुट पाउने छन् । कम्पनीले अहिले पर्वोत्शव नामक क्यापेन चलाई रहेको छ ।

त्यसैगरी रेडी गो खरिद गर्न चाहने ग्राहकले १ लाख २५ हजार रुपैयाँ नगद छुट, एक वर्षको बीमा, सडक दस्तुर र ९० लाख मूल्य बराबरको थप एसोसरिजहरु प्रदान गर्ने जनाएको छ । कम्पनीले यसमा इन्फोटेन्टमेन्ट सिस्टम प्रदान गर्ने जनाएको छ ।


Back_to_top