मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यूमा कडा टक्कर चलिरहेको छ । भारतीय प्लान्टबाट उत्पादन हुने दुबै ब्राण्डका सब कम्प्याक्ट एसयूभी बिक्रीको आँकडामा कडा प्रतिस्पर्धामा देखिएका हुन् ।
भारतीय बजारमा मारुती सुुजुकीले नोभेम्बरमा ब्रेजा १२ हजार ३३ यूनिट बिक्री गर्दा हुन्डाईले भेन्यू ९ हजार ६६५ यूनिट बिक्री गर्न सफल भएको छ । सुरुवाति समयमा ब्रेजालाई उछिनेको भेन्यू पछिल्लो दुई महिनामा ब्रेजाभन्दा पछि परेको छ ।
अक्टोबर महिनामा पनि ब्रेजा १० हजार २२७ यूनिट बिक्री हुँदा भेन्यू ८ हजार ५७६ यूनिट बिक्री भएको थियो । अक्टोबरको तुलनामा ब्रेजाले आफ्नो बजार हिस्सा १७ प्रतिशतले बढाउँदा भेन्यूले १२ प्रतिशतले बढाएको छ ।
त्यसैगरी यो सेग्मेन्टमा रहेका टाटा नेक्सनले नोभेम्बरमा ३ हजार ४३७ यूनिट बिक्री गर्दा फोर्डले इकोस्पोर्ट २ हजार ८२२ यूनिट बिक्री गरेको छ । महिन्द्राको नयाँ एसयूभी एक्सयूभी ३०० को बिक्री २ हजार २२४ यूनिट भएको छ ।
होन्डाले आफ्नो डब्ल्यूआरभीको बिक्री ७२१ यूनिट गर्दा महिन्द्रा टियूभी ३०० को बिक्री ६८३ यूनिट भएको अटोपण्डितले उल्लेख गरेको छ ।

