मोटरसाइकल चोरले उपत्यकामै चोरेर आगो लगाएपछि…

काठमाडौं । बेलुका पार्किङमा राखेको ठाँउबाट मोटरसाइकल हराउँछ । पार्किङमा राखेको ठाउँमा मोटरसाइकल नभएपछि चोरी भएको भन्दै मोटरसाइकलधनीले नजिकको प्रहरीमा खबर गर्छ । तर बिहान मोटरसाइकल ३ किलोमिटर परको सडक पेटीमा जलेको अबस्थामा फेला पर्छ ।

यो घटना गत आईतबार राती उपत्यकाको थलीमा घटेको हो । थलीका स्थानीय संतोष खड्का बेलुका स्थानीय होटलमा साथीहरुसँग खाना खाएर बाहिर आउँदा उनको मोटरसाइकल पार्किङ गरेको स्थानमा थिएन । 

मोटरसाइकल रातको ८ बजेबाट १० बजेको बीचमा हराएको हो । वरपर मोटरसाइकलको खोजी भयो तर, कतै भेटिएन । उनले तत्काल नजिकै रहेको स्थानीय प्रहरी चौकीमा मोटरसाइकल हराएको खवर गरे । प्रहरीले आफ्नो संयन्त्रमा सर्कुलर गर्ने र भोलि निवेदन दिन सुझायो ।

त्यसपछि खड्का आफ्नो मोटरसाइकल भेटिने आशमा घर लागे । तर, सोमबार बिहानै प्रहरी चौकीमा ३ किलोमिटर पर ब्रम्हखेलमा एउटा मोटरसाइकल जलेको खवर आयो । घटना स्थलमा प्रहरी पुग्दा मोटरसाइकल पूर्णत जलेको थियो । त्यसमा लागेको नम्बर प्लेट पनि केही बुझन सक्ने अवस्थामा थिएन । 

प्रहरीलाई शंका लाग्यो कतै हिजो हराएको मोटरसाइकल यहि त होइन ? मोटरसाइकल हराउने व्यक्तिलाई बोलाएर देखाउँदा उक्त मोटरसाइकल चोरी भएकै हो भन्ने पक्का भयो । 

संतोष खड्काले हराएको आफ्नो यामाहाको एफजी मोटरसाइकल टाढैबाट चिने । त्यसपछि कसले किन चोरेर ३ किलोमिटर टाढा लगेर जलायो भन्ने उनीले बुझनै सकेनन् । उत, प्रहरीपनि अन्योलमा छ । चोरले चोरर त बेच्न लानु पर्ने किन जलायो भन्ने विषयको खोजी गरिरहेको छ ।

कुनै व्यक्तिगत झै–झगडा हो कि भनेर प्रहरीले संतोषलाई सोद्धा उनले आफ्नो कसैसँग केही वादविवाद नभएको प्रहरीमा जानकारी दिएका छन् । प्रहरीपनि यो घटनालाई कसरी सुल्झाउन सकिन्छ भनेर खोजी रहेको बताउँछ ।


Back_to_top