काठमाडौं । नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा आउने भएको छ । अग्रेजी नयाँ बर्षलाई लक्षित गरेर यो मोटरसाइकल नेपाली बजारसमा सार्वजनिक गर्ने तयारी कम्पनीले गरेको हाे ।
होन्डाको सबैभन्दा चर्चित बाइकमा होन्डा यूनिकर्न र सीबी साइन पर्छन् । बिक्री बन्द भएको लामो समय भएता पनि नेपाली सडकमा यो मोटरसाइकल अझै उल्लेख्य रुपमा देख्न सकिन्छ । उत्कृष्ट माइलेज, राम्रो रिसेल भ्यालू, पार्टसको सहजता जस्ता कुराले यो मोटरसाइकल सबै वर्गमा लोकप्रिय रहेको छ ।
होन्डाले यूनिकर्नलाई अपग्रेड गरेर १६० सीसीमा नयाँ लुक्ससहित सार्वजनिक गरे पश्चात् १५० सीसी बन्द गर्ने घोषणा गरेको थियो । अब भने उक्त मोटरसाइकल पुनः आउन लागेको हो ।
फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल हो । कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।
नयाँ यूनिकर्नमा नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ ।
यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ स्पोक कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । यसमा सिंगल च्यानल एबीएसकाे विशेषता पाउन सकिन्छ ।
नयाँ बर्षलाई लक्षित गरेर नेपाली बजारमा भित्रने तयारी गरिरहेको यो मोटरसाइकलको मूल्य निर्धारण भने नभएको होन्डको आधिकारकि वितरक स्याकार ट्रेडिङले मेरोअटोलाई बताएको छ । यद्यपी यो मोटरसाइकलको मूल्य भने मूल्य २ लाख ७५ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ ।


