नेपाल आयो स्कर्पियो एस ५ नयाँ इन्जिनमा, मूल्य ३ लाख सस्ताे

काठमाडौं । महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नी इनकर्पोरेट प्रालिले नयाँ इन्जिनमा स्कर्पियो नेपाली बजारमा ल्याएको छ । कम्पनीले ल्याएको नयाँ स्कर्पियोमा १९९० सीसी क्षमताको फोर सिलिण्डर इनल्याण्ड डिओएचसी इन्जिन दिएको छ ।

रेगुलर मोडलको रुपमा कम्पनीले बिक्री गर्दै आएको २१७९ सीसीको जस्तै नयाँ इन्जिनले पनि समान पावर र टर्क प्रदान गर्नेछ । कम्पनीले २.० लिटर इन्जिनलाई केही ट्युनिङ गरेर एउटै पावर प्रदान गरेको जनाएको छ ।

नयाँ स्कर्पियो एस ५ भेरियन्ट मात्र उक्त इन्जिनमा उपलब्ध रहेको छ । त्यस बाहेक अन्य सबै भेरियन्ट २.२ लिटरमा नै उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘इन्जिन बाहेक अन्य कुनैपनि फिचरमा परिवर्तन भएको छैन । केबल केही कम सीसीको कारण रेगुलर मोडलभन्दा सस्तो पर्न गएको हो’, अग्नी इनकर्पोरेटका महाप्रबन्धक वरदान बस्नेतले भने ।

बस्नेतका अनुसार २००० सीसीभन्दा कम क्षमताको इन्जिन भएकाले कर बापत लाग्ने रकममा केही कम भएकाले त्यसको प्रत्यक्ष फाइदा ग्राहकले पाउने छन् ।

कम्पनीले २.० लिटर स्कर्पियो एस ५ टु ह्वील ड्राइभ मोडलको मूल्य ४८ लाख ८५ हजार रुपैयाँ र फोर ह्वील ड्राइभको मूल्य ५३ लाख रुपैयाँ रहेको छ ।

रेगुलर मोडल २.२ लिटर एस५ टु ह्वील ड्राइभ मोडलको मूल्य भने ५१ लाख ८५ हजार र फोर ह्वील ड्राइभको ५६ लाख रुपैयाँ रहेको छ । यसरी हेर्दा टु ह्वील ड्राइभ मोडलमा ग्राहकले ३ लाख र फोर ह्वील ड्राइभमा पनि ३ रुपैयाँ कम मूल्यमा गाडी पाउने छन् ।

महिन्द्रा स्कर्पियो नेपाली सडकमा सर्वाधिक गुड्ने र बिक्री हुने एसयूभीमा पर्छ । अब कम्पनीले २०२० को पहिलो क्वाटरसम्म अल न्यू स्कर्पियो ल्याउने तयारी गरिरहेको छ । नयाँ आउने स्कर्पियोमा सबै इन्जिन २.० लिटर क्षमताको हुने जनाइएको छ ।  


Back_to_top