हुन्डाई सेन्ट्रो र फोर्ड फिगोको चाखलाग्दो प्रतिस्पर्धा, कुनमा कस्ता विशेषता

काठमाडौं । कुनै समय थियो, नेपाली सडकमा सेन्ट्रो भनेपछि मध्यम आय भएका मानिसको पहिलो रोजाइको कारमा पथ्र्यो । सन् १९९८ मा भारतीय बजारमा हुन्डाईको प्रबेशसँग त्यसको केही वर्षपछि यसले नेपाली बजारमा प्रबेश गरेको थियो । सेन्ट्रोले यसरी बजारमा पकड जमायो कि त्यहि सेन्ट्रोसँग प्रतिस्पर्धा गर्न मारुती सुजुकीले वागेनआरलाई बजारमा उतारेको थियो ।

टल ह्याच डिजाइनमा बजारमा आएको सेन्ट्रोले कम्पनीको इन्ट्री लेभल कारको बजारमा निकै ठूलो उत्साह प्रदान गर्यो । जसले भारत र नेपालको बजारमा हुन्डाईलाई स्थापित नै गर्यो । कम्पनीले सन् २०१४ मा सेन्ट्रोको उत्पादन बन्द गर्ने निर्णय गर्यो । जसको सिधा फाइदा भारतीय बजारमा उत्पादन भएको फोर्डको इन्ट्री लेभल मोडल फिगोले पायो ।

नेपाली बजारमा फोर्डले फिगो निकै राम्रो संख्यामा बिक्री गर्न सफल भयो त्यसको मुख्य कारण सेन्ट्रोको उत्पादन बन्द हुनुलाई लिने गरिन्छ । निकै स्टाइलिस डिजाइनमा बनेको फिगो ह्याचव्याकले नेपाली सडकमा राम्रो पकड जमाउन सफल भयो ।

२०१८ को अक्टोबरमा हुन्डाईले नयाँ सेन्ट्रोको उत्पादन पुनः सुरु गर्यो । त्यसको केही महिनापछि नयाँ सेन्ट्रोले नेपाली बजारमा प्रबेश पायो । उता फोर्डले पनि २०१९ मा पुनः आफ्नो चर्चित ह्याचव्याकको फेसलिफ्ट मोडललाई बजारमा ल्यायो ।

अहिले यी दुबै मोडल नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् । झण्डै उस्तै मूल्य, फिचर र इन्जिन भएका यी दुबै कारको विशेषतालाई यहाँ हामीले केलाउने प्रयास गरेका छौं ।

भेरियन्ट

हुन्डाईले सेन्ट्रोलाई विभिन्न ५ भेरियन्टमा बिक्री वितरण गर्दै आएको छ । जसमा इरा, मग्ना, मग्ना अटोमेटिक, स्पोट्ज र आस्टा रहेका छन् ।

फोर्डले फिगोलाई एम्बियन्ट र टाईटेनियम दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । तर, फोर्डले फिगोलाई १.५ लिटरमा पनि बिक्री गर्दै आएको छ । यहाँ हामीले १.५ लिटर इन्जिन भएको गाडीलाई समाबेस गरेका छैनौ ।

मूल्य

फोर्डको एम्बियन्ट भेरियन्टको मूल्य २५ लाख ४९ हजार रुपैयाँ रहेको छ भने टाइटेनियमको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई सेन्ट्रो इराको मूल्य २२ लाख ९६ हजार, मग्नाको २५ लाख ५६ हजार, मग्ना अटोमेटिकको मूल्य २८ लाख ९६ हजार,स्पोट्जको २७ लाख ५६ हजार र आस्टाको मूल्य ३० लाख ५६ हजार रुपैयाँ रहेको छ ।

इन्जिन
फोर्ड फिगोमा ११९६ सीसी क्षमताको पेट्रोल इन्जिन दिइएको छ भने उक्त इन्जिनले ६३०० आरपीएममा ८७ बीएच पावर र ११२ एनएम टर्क प्रदान गर्छ ।

हुन्डाई सेन्ट्रोमा उपलब्ध १०८६ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ५५०० आरपीएममा ६९ बीएच पावर र ४५०० आरपीएममा ९९ एनएम टर्क प्रदान गर्छ ।

साइज

सेन्ट्रोको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम र उचाई १५६० एमएम रहेको छ भने फिगोको लम्बाई ३८८६ एमएम, चौडाई १६९५ एमएम र उचाई १५२५ एमएम रहेको छ ।

फोर्डले फिगोमा २४९१ एमएम र हुन्डाईले सेन्ट्रोमा २४०० एमएमको ह्वीलवेस दिएको छ । ग्राउन्ड क्लियरेन्सको कुरा गर्दा सेन्ट्रोमा १६५ एमएम र फिगोमा १७४ एमएम रहेको छ ।

माइलेज

गाडीको माइलेज हाम्रो जस्तो सडकमा खासै राम्रो आउने गरेको छैन । यद्यपी एआरएआईले प्रमाणित गरे अनुसार हुन्डाई सेन्ट्रोले २०.३ किलोमिटर र फोर्ड फिगोले १८.१६ किलोमिटर प्रतिलिटर माइलेज दिने छ ।

हुन्डाईले सेन्ट्रोमा ३५ लिटरको फियुल ट्याङ्की दिएको छ भने फोर्ड फिगोमा ४२ लिटरको फियुल ट्याङ्की दिइएको छ ।

सुरक्षा फिचर

सुरक्षाको लागि दुबै गाडीमा एयरव्याग दिइएको छ । एबीएस, इबीडी, इलेक्ट्रोनिक स्टेविलिटी प्रोग्रामजस्ता फिचर उपलब्ध रहेको छ । दुबै गाडीमा समान फिचरको रुपमा इन्जिन इमोविलाइजर, चाइल्ड सेफ्टी लक, पावर डोर लक उपलब्ध रहेको छ ।


Back_to_top