होन्डाले भारतमा सर्वाधिक बिक्री हुने स्कुटर एक्टिभाको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यो एक्टिभाको छैटौं जेनेरेशन मोडल हो । १०९ सीसी क्षमताको इन्जिन रहेको यो स्कुटरमा कम्पनीले एफआई इन्जिन प्रदान गरेको छ ।
भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनले ८००० आरपीएममा ७.६८ बीएच पावर र ५२५० आरपीएममा ८.७९ एनएम टर्क प्रदान गर्छ । ५ औं जेनेरेशनको तुलनामा नयाँ जेनेरेशनले १० प्रतिशत बढी माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले नयाँ जेनेरेशनमा अगाडिको एप्रोन, हेडलाईट र पछाडिको भागमा परिमार्जन गरेको छ । यसमा नयाँ एलइडी हेडलाईट दिइएको छ । यसको साइड प्यानमा पनि परिमार्जन देख्न सकिन्छ । यसलाई कम्पनीले विभिन्न ६ कलर अप्सनमा बजारमा ल्याएको छ ।
यसमा सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ । रिमोट ओपनिङ, मल्टी फङ्सन की, सायलेन्ट स्टार्ट मोटर जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

