यस्तो छ महिन्द्रा, हुन्डाई, किया, बिवाइडी र एमजीका इलेक्ट्रीक कारको ब्याट्री (मूल्यसहित)

काठमाडौं । नेपालमा महिन्द्रा, हुन्डाई, किया, बिवाइडी र एमजीले आफ्ना इलेक्ट्रीक कार बिक्री गर्दै आएको छ । यी कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक कारमा कस्तो व्याट्री प्याक दिइएको छ भन्ने सबैलाई जानकारी नहुन सक्छ ।

इलेक्ट्रीक कारको सबैभन्दा महत्वपूण पक्ष भनेको व्याट्री हो । व्याट्रीले एक पटकको फुल चार्जमा कति रेञ्ज प्रदान गर्छ र त्यसलाई फुल चार्ज गर्न कति समय लाग्छ भन्ने विषय निकै महत्वपूर्ण हुन्छ ।

नेपाली बजारमा महिन्द्रा, हुन्डाई र बिवाइडीले दुई दुई मोडलको बिक्री गर्दै आएका छन् भने किया र एमजीसँग अहिले एक–एकवटा मोडल मात्र रहेको छ । यस्तोमा गाडी किन्न चाहने ग्राहकलाई ध्यानमा राख्दै कुन गाडीमा कस्तो व्याट्री रहेको छ भन्ने विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।

महिन्द्रा

महिन्द्रा नेपाली बजारमा सस्तो मूल्यका इलेक्ट्रीक कार बिक्री गर्ने कम्पनी हो । महिन्द्राले इटुओ र इभेरिटोगरि दुई मोडललाई नेपाली बजारमा बिक्री गर्दै आएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी इनर्जीले बिक्री गर्दै आएको इटुओमा ११ किलोवाट आवरको लिथियन आयोन व्याट्री प्याक दिइएको छ । यसले एकपटकको फुल चार्जमा ११० देखि १३० किलोमिटर रेञ्ज प्रदान गर्नेछ । यसको नेपालमा मूल्य २२ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

साथै, कम्पनीले बिक्री गर्ने इभेरिटो सेडान कार हो । यसमा कम्पनीले ३०.५ किलोवाट आवरको लिथियन आयोन व्याट्री प्याक दिएको छ । यसलाई एक पटकको फुल चार्जमा १४० किलोमिटर चलाउन सकिने जनाइएको छ । यसको मूल्य भने ३० लाख २० हजार रुपैयाँ रहेको छ ।

हुन्डाई

हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्सले नेपालमा कोना र आयोनिकलाई इलेक्ट्रीक कारको रुपमा बिक्री गर्दै आएको छ । यी मध्य कोना इलेक्ट्रीक दुई व्याट्री अप्सनमा उपलब्ध रहेको छ । कोना क्रसओभर एसयूभी हो । यसमा रहेको ३९.२ किलोवाट आवरको लिथियन आयोन व्याट्रीले एक पटकको फुलचार्जमा ३१० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ । साथै, कोना इलेक्ट्रीक ६४ किलोवाट आवरको लिथियन आयोन व्याट्रीमा पनि उपलब्ध रहेको छ । ठूलो व्याट्री रहेको कोनालाई एक पटकको फुल चार्जमा ३८४ किलोमिटरसम्म चलाउन सकिने छ । यसको मूल्य भने ६५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरि, हुन्डाई आयोनिकमा ३८.३ किलोवाट आवरको लिथियन आयोन व्याट्री प्याक दिइएको छ । यो व्याट्रीलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ । यो सेडान कार हो यसको बजार मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

बिवाइडी

बिवाइडी चिनीयाँ कम्पनी हो । यसको नेपालको आधिकारीक बिक्रेता साइमेक्स इङ्कले बिवाइडीको इ६ र एम३ गरि दुई मोडलको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको इ६ एयूभी हो भने एम३ एमपीभी हो ।

बिवाइडी इ६ मा ८० किलोवाट आवरको लिथियम आयोन व्याट्री दिइएको छ । एसले एक पटकको फुल चार्जमा ४८० किलोमिटर रेञ्ज प्रदान गर्छ । यसलाई कम्पनीले ६६ लाख मूल्य तोकेर बिक्री गर्दै आएको छ । त्यस्तै एम थ्रिमा ५०.३ किलोवाट आवरको लिथियन आयोन व्याट्री रहेको छ । यसले सिंगल चार्जमा ३१० किलोमिटर रेञ्ज प्रदान गर्ने छ । नेपालमा यसको मूल्य ४८ लाख रुपैयाँ रहेको छ ।

एमजी इजेडएस

 

मोरिस ग्यारेजको पहिलो एसयूभी इजेडएस नेपाली बजारमा पारामाउन्ट मोटर्सले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने यो एसयूभीमा ४४.५ किलोवाट आवरको लिथियन आयोन व्याट्री प्याक दिइएको छ । यसले एक पटकको चार्जमा ३३० किलोमिटर रेञ्ज प्रदान गर्ने छ । यसको बजार मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

किया निरो

कियाको पछिल्लो एसयूभी निरो नेपालमा कन्टिनेन्टल्स ट्रेडिङले बिक्री वितरण गर्दै आएको छ । निरो सेग्मेन्टमा नै सर्वाधिक सफल मोडलसमेत हो । यसमा कम्पनीले ६४ किलोवाट आवरको लिथियन आयोन व्याट्री दिएको छ । उक्त व्याट्रीले एक पटकको फलु चार्जमा ३८४ किलोमिटर रेञ्ज प्रदान गर्ने छ । यसको नेपाली बजारमा मूल्य ६६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


Back_to_top