काठमाडौं । होन्डा कारको आधिकारीक बितरक स्याकार ट्रेडिङले बिक्री वितरण गर्दै आएको कम्प्याक सेडान कार अमेज नेपालमा पनि रुचाईएको कारमा पर्छ । जापानी कार उत्पादक कम्पनी होन्डाले कम मूल्यमा बजारमा ल्याएको यो कार ३५ लाख ६५ हजार रुपैयाँदेखि किन्न सकिन्छ ।
कम्पनीले अहिले नेपाली बजारमा अमेजको ४ भेरियन्ट बिक्री गर्दै आएको छ । जसमा अमेज एस म्यानुयल, अमेज एस अटोमेटिक, अमेज भी म्यानुयल र अमेज भी अटोमेटिक रहेका छन् ।
कम्पनीले अमेज एस म्यानुयलको मूल्य ३५ लाख ६५ हजार, अमेज एस अटोमेटिकको ४० लाख ९० हजार तोकेको छ । त्यस्तै अमेज भी मोडलको मूल्य ३८ लाख ९० हजार र अमेज भी अटोमेटिकको मूल्य ४२ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
अहिले कम्पनीले सस्तो व्याजदर र कम डाउन पेमेन्टमा कार किन्न पाउने अफर योजना संचालन गरिरहेको छ । स्याकार ट्रेडिङले ल्याएको योजनामा अमेज किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्दा ४.२५ प्रतिशत व्याजदरमा कर्जा सुविधा पाउने छन् ।
त्यस्तै ४० प्रतिशत डाउन पेमेन्ट तिर्नेले ५.९९ प्रतिशत व्याजदरमा र ३० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ७.५ प्रतिशत व्याजदरमा कर्जा पाउने छन् । यसरी लिने कर्जा फ्ल्याटमा हुने कम्पनीले जनाएको छ ।
७ वर्षको लागि फ्ल्याट व्याजदरमा ग्राहकले गाडी पाउने छन् । साथै, अमेजमा ७५ हजार रुपैयाँ नगद छुट, एक वर्षको बीमा, सडक दस्तुर लगायतको खर्च कम्पनीले व्योहोर्ने छ ।
उदाहरणमा हेरौं । ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर अमेज एस म्यानुयल किन्ने हो भने यसको मूल्य ३५ लाख ६५ हजार रुपैयाँ रहेको छ । यसमा ७५ हजार नगद छुट ग्राहकले पाउने छन् । नगद छुट पछिको रकम ३४ लाख ९० हजार रुपैयाँ हुन्छ । त्यसको ५० प्रतिशत डाउन पेमेन्ट भनेको १७ लाख ४५ हजार रुपैयाँ हुन्छ ।
बाँकी १७ लाख ४५ हजार रुपैयाँलाई ७ वर्षे कर्जा लिँदा ४.२५ प्रतिशत व्याज लाग्ने छ । यसरी हिसाव गर्दा वार्षिक व्याज ७४ हजार १६२ रुपैयाँ हुन्छ । सात वर्षे फ्याट कर्जा भएकाले व्याज वापत ग्राहकले ५ लाख १९ हजार १३७ रुपैयाँ तिर्नु पर्छ भने कर्जाको रकम १७ लाख ४५ हजार तिर्नु पर्छ । यी दुबै रकम जोड्दा २२ लाख ६४ हजार १३७ रुपैयाँ हुन आउँछ । यसलाई ८४ किस्तामा भुक्तानी गरिसक्नु पर्ने छ । ग्राहकले मासिक २६ हजार ९५४ रुपैयाँ तिर्नु पर्ने छ । यसरी अमेज किन्दा बीचमा व्याजदर भने परिवर्तन हुने छैन ।
होन्डा अमेजमा १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । उक्त इन्जिनले ८९ बीएच पावर र ११० एनएम टर्क उत्पादन गर्छ । होन्डा अकर्डको १० औं जेनेरेशनको डिजाइनबाट प्रेरित अमेज निकै स्टाइलिस देखिन्छ ।
होन्डा अमेज एस एमटी भेरिएन्टमा इलेक्ट्रीक एडजस्टेवल र फोल्डेवल एलइडी टर्न इन्डिकेटर दिइएको छ । साथै, सार्क फिन एन्टीना र बडी कलर हैन्डल दिइएको छ । यसका अलावा किलेस इन्ट्री, अडियो कन्ट्रोल, टिल्ट स्टेरिङ, ४ स्पिकरको साथ २ डीन अडियो सिस्टम र ड्राइभर एडजस्टेवल सिट दिइएको छ ।
सुरक्षालाई मध्यनजर गर्दै कारमा २ एयरब्याग, एबीएस, इबीडी, ब्रेक असिस्ट, चाइल्ड सिटट, रिर्भस पार्किङ सिस्टम दिइएको छ ।
माइलेजको हिसावले अमेज होन्डाको सबैभन्दा किफायती कार हो । यसले १९.५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

