काठमाडौं । अहिले अटो बिक्रेता कम्पनीहरु सब फोर मिटर (चार मिटरभन्दा छोटा) एसयूभी निर्माणमा केन्द्रित भएको देखिन्छ । यस्ता साना स्पोर्ट यूटिलीटी भेहिकल साँचै आकर्षक छन् त भन्ने विषयमा अहिले चर्चा गर्ने सहि समय आए जस्तो लाग्छ ।
भारतमा सब फोर मिटर एसयूभीको रुपमा सबैभन्दा पहिला फोर्डले इकोस्पोर्टलाई बजारमा ल्याएको थियो । करिब ५ वर्षसम्म इकोस्पोर्टले एक छत्र राज गरेपछि अन्य कम्पनीहरुले यो सेग्मेन्टमा गाडी ल्याउन थालेका हुन् ।
अहिले बजारमा इकोस्पोर्टको अलावा मारुती सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी-३०० जस्ता मोडल बिक्री वितरण भइरहेका छन् । साथै, कियाले सोनेट, रेनो किगर, टोयोटा अर्वान क्रुजर, निसान म्याग्नाइट, डाट्सन, फक्सवागन, स्कोडा, सिट्रोन, जीप लगायत ब्राण्डले भारतमा नै यस्ता छोटा एसयूभी बनाइरहेका छन् ।
ग्राहकले कम पैसामा एसयूभीको फिल गर्न सक्ने भएकाले यी गाडीमा आकर्षण बढ्दै गएको हो । नेपालमा पनि अहिले बिक्री भइरहेका ब्रेजा, इकोस्पोर्ट, नेक्सन, भेन्यू र एक्सयूभी-३०० बिक्री वितरण हुँदै आएको छ भने किया सोनेटपनि अबको केही महिनामा नेपाल आउने पक्का भइसकेको छ ।

अहिले कम्पनीहरुले यो सेग्मेन्टमा निकै प्रतिस्पर्धी फिचरहरु उपलब्ध गराउन सुरु गरिसकेका छन् । यद्यपी नेपाल जस्तो देशमा फिचरले भरिएको सब फोर मिटर एसयूभी महंगो मूल्य तिर्नु पर्ने अवस्था भने विद्यमान रहेको छ । टप भेरियन्टको रुपमा बिक्री वितरण हुँदै आएको यस्ता गाडीको मूल्य करिब करिब क्रेटा, सेल्टोस, डस्टर र किक्सको मूल्य हाराहारी मै पर्छ ।
ड्राइभिङ अनुभव
यदि तपाई एसयूभीको ड्राइभिङ अनुभव सब फोर मिटर एसयूभीमा खोज्नु हुन्छ भने त्यो पाउन सक्नु हुन्न । मुख्यत सानो साइज र छोटो ह्वीलबेसको कारण एसयूभीको अनुभव पाउन कठिन हुन्छ । यस्ता गाडीमा फोर ह्वील ड्राइभ सिस्टम पनि नहुँदा एसयूभीको मज्जा लिन भने पाइन्न ।
छोटो साइज र मूल्य अनुसारको फिचर भन्दै कम्पनीहरुले बनाएका यस्ता एसयूभी बास्तवमा क्रसओभर ह्याचव्याक जस्तै रहने गरेका छन् ।
पछिल्लो समय आएका केही सब फोर मिटर एसयूभी केही बल्की डिजाइनमा पनि पाउन सकिन्छ तर, यी गाडीमा फोर ह्वील ड्राइभ चालकले मिस गर्ने छन् । अहिले बजारमा बिक्री भइरहेका एसयूभी विशेषत सहरी क्षेत्रलाई मध्यनजर गर्दै निर्माण भएका हुन् ।
सुरक्षामा अब्बल बन्दै
यस्ता गाडी सुरक्षामा भने अब्बल बन्दै गएका छन् । पछिल्लो समय बजारमा आएका एक्सयूभी-३०० र टाटा नेक्सन ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाउन सफल गाडी हुन् । यी दुबै गाडी सब फोर मिटर सेग्मेन्टमा सबैभन्दा सुरक्षीत एसयूभी हुन् । त्यस्तै ब्रेजा र भेन्यूपनि ४ स्टार रेटिङ पाउन सफल एसयूभीमा पर्छन् ।
नयाँ आउने एसयूभीहरुले पनि सुरुक्षालाई विशेष जोड दिएका छन् । कियाले सोनेट र निसानले म्याग्नाइटमा सुरक्षालाई प्राथमिकता दिएको जनाएका छन् । यो सेगमेन्टका एसयूभीमा ६ वटासम्म एयरव्याग, हाई स्ट्रेन्थ स्टील, एबीएस, इबीडी, हिल एसिस्ट, क्रुज कन्ट्रोल, लेन एसिस्ट, टायर प्रेसर मोनिटरिङ जस्ता फिचरहरु उपलब्ध रहेका छन् ।

इन्जिनमा विविधता
यस्ता साना एसयूभीमा १.० लिटरदेखि १.२ लि., १.४ लि. र १.५ लिटर क्षमतासम्मका इन्जिन उपलब्ध रहेका छन् । पेट्रोल र डिजेल इन्जिनमा आएका यी एसयूभीहरुमा आधुनिक म्यानुअल र अटोमेटिक गियरबक्स उपलब्ध रहेका छन् ।
यस्ता एसयूभीमा दिइएका टर्बो चार्ज्ड इन्जिन पनि निकै पपुलर छन् । अहिले भेन्यू, नेक्सन र एक्सयूभी-३०० मा टर्बो चार्ज्ड इन्जिन रहेका छन् । यी विस्तारै नेपाली ग्राहक माझ स्थापित हुन प्रयास गरिरहेका छन् । यस्ता टर्बो इन्जिन भएका कारको मज्जा हाइवेमा गाडी चलाउदा लिन सकिने भएकाले मोसफलमा यस्ता गाडी सफल बन्दै गएका छन् ।
खाल्डाबाट जोगिन उपयोगी
नेपालका सडक कुन बेला कहाँ खाल्डो पर्छ कसैले अनुमान लगाउन नसकिने अवस्थाका छन् । अहिले चिल्लो बाटोमा आएको स्थानमा भोलि बिहान आउदा खाल्डो परिरहेको हुन्छ । यस्ता खाल्डाबाट बचाउन यी साना एसयूभी उपयोगी मानिन्छन् । यी एसयूभीमा २०० एमएमदेखि २१० एमएमसम्म ग्राउन्ड क्लियरेन्स रहने भएकाले ग्राहकले यी गाडी किन्न रुचाएका छन् ।
निष्कर्ष
सब फोर मिटर एसयूभीको बजार नेपालमा पनि बढ्दै गएको छ । इकोस्पोर्ट, नेक्सन, ब्रेजा, भेन्यू र एक्सयूभी-३०० सबै गाडी नेपालमा राम्रै संख्यामा बिक्री भएका गाडी हुन् । तर, यी गाडी बी र सी सेग्मेन्ट सेडान जत्तिको पनि आरामदायी छैनन् ।
तर, सेडान कार चलाउने बाटोको अवस्था र विश्वमा नै एसयूभीको क्रेज बढ्दो क्रममा रहेकाले कम्पनीहरुको ध्यान सस्ता, साना र छोटा एसयूभी उत्पादन तर्फ केन्द्रित भएको छ । योबाट नेपाल अछुतो रहने कुरै भएन ।

