काठमाडौं । हुन्डाई आफ्नो चर्चित प्रिमियम ह्याचव्याक कार आई २० इलाइटको भारतमा आजबाट बिक्री सुरु गरेको छ । कम्पनीले भारतीय बजारमा आई २० लाई ३ इन्जिन अप्सनमा बजारमा उतारेको छ ।
कम्पनीले आई २० लाई १.० लिटर टर्बो, १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराएको छ । आई २० मा दिइएको सबै इन्जिन अप्सन हुन्डाई भेन्यूबाट लिइएको हो ।
नयाँ जेनेशन आई २० मा रहेको टर्बो इन्जिनले सबैभन्दा धेरै पावर प्रदान गर्छ । उक्त इन्जिनले अधिकतम १२० पीएस पावर र १७१ एनएम टर्क प्रदान गर्छ भने १.२ लिटर इन्जिनले अधिकतम ८३ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । यसमा नै दिइएको डिजेल इन्जिनले अधिकतम १०० पीएस पावर र २४० एनएम टर्क प्रदान गर्ने छ । यी कारमा आइएमटी, एमटी र डिसीटी गियरबक्सको विकल्प दिइएको छ ।
नयाँ जेनेरेशन आई २० इलाईटमा डियुल टोन अलोय ह्वील, ठूलो हेग्जागोनल ग्रिल, नयाँ हेडल्याम्प, फग ल्याम्प र एलइडी टेलल्याम्प दिइएको छ ।
नेपालमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि आधिकारीक बिक्री वितरण गर्दै आएको हुन्डाई आई २० को नयाँ जेनेरेशन मोडल सन् २०२१ को सुरुवातमा मात्रै आउने अनुमान गर्न सकिन्छ ।


