दुई महिनापछि अर्को नयाँ मोटरसाइकल बजारमा ल्याउँदै होन्डा

काठमाडौं । होन्डाले भारतीय बजारमा आक्रमक बजार विस्तारको रणनीति तयार गर्दै एकपछि अर्को नयाँ मोटरसाइकल बजारमा ल्याइरहेको छ । कम्पनीले ५ दिनअघि सिबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल बजारमा ल्याएको थियो । अब दुई महिनापछि अर्को नयाँ एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको हो ।

होन्डाले आफ्नो विग बाइक विक्री गर्दै आएको नेटवर्कमा विक्री गर्ने लक्ष्य बनाएको यो मोटरसाइकल नेपाल पनि आउन सक्ने मोडलमा पर्छ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपालमा पनि विग बाइक विक्री गर्दै आएको छ ।

स्याकार ट्रेडिङले हाइनेस सिबी ३५० नेपाल ल्याउने तयारी पनि गरिरहेको जनाएको छ । पछिल्ला ५ महिनामा होन्डाले तीन नयाँ मोडल भारतीय बजारमा ल्याइसकेको छ । यसले होन्डाको आक्रमक बजार रणनीति पुष्टी गर्छ ।

आगामी अप्रिलमा सार्वजनिक हुने सिबी ५०० एक्स भारतमा एसेम्बल मात्रै हुनेछ । तत्काल यसका सबै पार्टस् आयात गरेर एसेम्बल गर्ने योजना होन्डाले बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसको मूल्य भारतमा ६ लाख भारतीय रुपैयाँ हारहारी हुने अनुमान गरिएको छ ।

१७.७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिइने यो मोटरसाइकलमा ४७१ सीसी क्षमताको पावरफुल इन्जिन उपलब्ध रहने छ । यसमा दिइने इन्जिनले अधिकतम ४७.५ पीएस पावर र ४३ एनएम टर्क प्रदान गर्नेछ । एक पटकको फुल ट्याङ्क इन्धनले यसलाई ५०० किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।

अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील उपलब्ध रहने यो मोटरसाइकलमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स, अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि ५ स्टेप प्रि-लोडेड एड्जस्टेवल लिङ्क मोनोशक सेटअप पाउन सकिन्छ । यसको सिधा प्रतिस्पर्धा केटीएम ३९० एड्भेन्चसँग हुने अपेक्षा गरिएको छ ।

दुबै चक्कामा डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस, ब्लक प्यार्टन टायर जस्ता फिचर यसमा उपलब्ध रहने छ ।


Back_to_top