किया सेल्टोसमा थपिदै नयाँ फिचर

काठमाडौं । किया इन्डियाले सेल्टोसमा केहि फिचर थप गर्ने भएको छ । कम्पनीले २०१९ मा बजारमा उतारेको सेल्टोसमा पहिलो पटक ठूलो परिमार्जन गर्न लागेको हो । कम्पनीले सन् २०२० मा पनि केहि कस्मेटिक परिमार्जन गरेको थियो ।

कम्पनीले अप्रिल २७ मा नयाँ फिचर सहितको सेल्टोस बजारमा ल्याउने घोषणा गरिसकेको छ । यद्यपी के कस्ता परिमार्जन हुन्छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । मिडिया रिपोर्टहरुलाई आधार मान्दा नयाँ सेल्टोसमा कियाको नयाँ लोगो र इलेक्ट्रीक सनरुफ मुख्य परिमार्जन हुने छ ।

अहिले आफ्नो टप भेरियन्टमा उपलब्ध पावर सनरुफलाई कम्पनीले अन्य भेरियन्टमा पनि उपलब्ध गराउने अनुमान गरिएको छ । पछिल्ला दिनमा बजारमा आएका अधिकांश एसयूभीमा पानारोमिक सनरुफ उपलब्ध रहेको कारण कम्पनीले यसलाई आफ्नो सबै भेरियन्टमा दिन लागेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यस बाहेक पनि कारमा थुप्रै कस्मेटिक परिमार्जन हुन सक्ने छ । किया सेल्टोस नेपाली बजारमा पनि निकै राम्रो संख्यामा विक्री हुँदै आएको एसयूभी हो । बजारमा यसको सिधा प्रतिस्पर्धा हुन्डाई क्रेटासँग भइरहेको छ ।


Back_to_top