भारतमा बन्ने सुजुकी जिम्नीको फिचर बाहिरियो, थारलाई बन्ला चुनौती

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीको फिचरहरु बाहिरिएको छ । कम्पनीले विश्वका थोरै देशमा मात्रै विक्री गर्दै आएको यो अफरोड एसयूभी भारतमा पनि उत्पादन गर्ने काम अगाडि बढाएको हो ।

सन् २०२२ को सुरुवातबाटै जिम्नी भारतमा उत्पादन र विक्री सुरु हुने अनुमान गरिएको छ । भारतमा जिम्नीको उत्पादन गरेर निर्यात भने यसअघि नै सुरु भइसकेको छ । भारतीय कम्पनी मारुती र जापानी कम्पनी सुजुकी मिलेर बनेको मारुती सुजुकी भारतमा सर्वाधिक सफल कार ब्राण्ड हो । भारतमा वार्षिक विक्री हुने कारको आधाभन्दा बढी हिस्सा मारुती सुजुकीले ओगटेको छ ।

नयाँ जेनेरेशन महिन्द्रा थारको सफलतासँगै सुजुकीले भारतमा जिम्नी ल्याउन लागेको हो । जिम्नीमा कम्पनीले थारको तुलनामा केहि लामो ह्वीलवेस दिन लागेको बताइन्छ । सार्वजनिक भएको जिम्नीको डिटेलमा यसमा २५५० एमएमको ह्वीलवेस रहने छ । यसमा दिइने ह्वीलवेस थारभन्दा १०० एमएम धेरै हुने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रि बजारमा विक्री भइरहेको जिम्नी तीन ढोका भएको एसयूभी हो । तर, भारतमा कम्पनीले यसलाई ५ डोर क्षमतामा ल्याउने छ । यसको लम्बाई तीन डोरको तुलनामा ३०० एमएम धेरै रहेको छ । भारतमा बन्ने जिम्नीको लम्बाई ३८५० एमएम, चौडाई १६४५ एमएम र उचाई १७३० एमएम रहने छ ।

जिम्नीमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले १०२ पीएस पावर र १३० एनएम टर्क प्रदान गर्छ । ५ स्पीड म्यानुयल र ४ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स यसमा उपलब्ध रहने छ ।


Back_to_top