उस्तै मूल्य भएका क्वीड र सेलेरियोमा कुन किन्ने ? यस्ता छन् फरक

काठमाडौं । साना ह्याचव्याक कारको बजारमा निरन्तर गिरावट आएको तथ्यांकले देखाएको छ । कुनै समय करिब ६० प्रतिशत हाराहारी बजार हिस्सा ओगटेको ह्याचव्याक सेग्मेन्ट निकै खुम्चेको छ । अहिले समग्र ह्याचव्याकको बजार ३० प्रतिशत हाराहारीमा झरेको छ ।

त्यसमा पनि साना ह्याचव्याक कारको बजार झनै घटेको अनुमान लगाउन सकिन्छ । अहिले साना ह्याचव्याक सेग्मेन्टमा अल्टो, सेलेरियो, सेन्ट्रो, क्वीड, रेडी गो जस्ता मोडल बजारमा उपलब्ध रहेका छन् । तर, यो सेग्मेन्टमा रुची राख्ने ग्राहक घट्दै गएका छन् । जसलाई यी मोडलको विक्री संख्याले समेत पुष्टी गर्छ ।

अहिले बजारमा उपलब्ध साना ह्याचव्याक कार मध्ये रेनो क्वीड र सुजुकी सेलेरियोका बीच रहेको भिन्नतालाई हामीले यहाँ केलाउने प्रयास गरेका छौं ।

सेलेरियो सन् २०१५ देखि निरन्तर नेपाल आइरहेको मोडल हो । मारुती सुजुकीले ल्याएको १ हजार सीसी क्षमताको थ्रि सिलिण्डर इन्जिन युक्त सेलेरियो सन् २०१९ सम्म निकै राम्रो संख्यामा विक्री हुँदै आएको थियो । सन् २०१९ मा हुन्डाई सेन्ट्रो बजारमा आएसँगै यसको विक्रीमा केही कमी आएको तथ्यांकले देखाउँछ ।

सन् २०१७ को अन्त्यबाट नेपाल प्रबेश गरेको रेनो क्वीड यो सेग्मेन्टमा सेलेरियोको विकल्प दिन सफल भएको मोडल मानिन्छ । करिब २ वर्ष निकै राम्रो सफलता पाएको क्वीड रेनोको सर्वाधिक विक्री हुने मोडल पनि हो । सन् २०२० को अन्त्यबाट फेसलिफ्ट मोडल आएसँगै क्वीडको विक्री निकै राम्रो भइरहेको छ । अहिले सेलेरियोलाई पछाडि छाडेको क्वीड मूल्यका हिसावले पनि सेलेरियोको पतिस्पर्धी मोडल हो ।

मारुती सुजुकी सेलेरियो विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । भिएक्सआई भेरियन्टको मूल्य २५ लाख ४९ हजार, जेडएक्सआई अप्सनलको २७ लाख ९९ हजार र सेलेरियो एक्स भेरियन्टको मूल्य २९ लाख २९ हजार रहेको छ ।

रेनो क्वीड पनि विभिन्न तीन भेरियन्टमा उपलब्ध रहेको छ । एड्भाञ्स अटोमोवाइलले नेपालमा विक्री गर्दै आएको आरएक्सटी अप्सनल म्यानुयल भेरियन्टको २५ लाख ४९ हजार, आरएक्सटी अप्सनल क्लाइम्बर भेरियन्टको २६ लाख ४९ हजार र आरएक्सटी अप्सनल अटोमेटिकको २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

नेपाली बजारमा सिजी मोटोकर्पले विक्री गर्दै आएको मारुती सुजुकी सेलेरियोमा ९९८ सीसी क्षमताको के१०बी थ्रि सिलिण्डर इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले ६७ पीएस पावर र ९० एनएम टर्क प्रदान गर्छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारमा सुरक्षाको लागि एबीएस, इबीडी, एयरव्याग, पार्किङ क्यामेरा जस्ता फिचर दिइएको छ । स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, मल्टी इन्फर्मेशन डिस्प्ले जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।

रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले क्वीड विक्री गर्दै आएको छ । क्वीडमा रहेको इन्जिनले ६७ पीएस पावर ९१ एनएम टर्क प्रदान गर्छ । क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ ।

क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेका छन् ।

 


Back_to_top