सुकेटार विमानस्थलमा नियमित उडान शुरु, हप्तामा ४ दिन उडान हुने

ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो ।

आज काठमाडौँबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ ।

ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुग्नुभएको थियो । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए । सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

निगमले ताप्लेजुङदेखि प्रदेश नं १ राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।


Back_to_top