काठमाडौं । सरकारले विक्रम सम्बत २०६९ सालमा लागु गरेको नेपाल प्रदुषण मापदण्ड ३ बाट उक्लेर एकै पटक नेपाल प्रदुषण मापदण्ड ६ लागु गर्ने भएको छ । यसअघि विक्रम संम्बत २०७६ सालमा प्रदुषण मापदण्ड–४ तयार गरेपनि लागु नगरी बसेको सरकारले मापदण्ड ६ लागु गर्ने तयारी गरेको हो ।
भारत सरकारले (भारतीय प्रदुषण मापदण्ड) बीएस–६ लागु गरेको एक वर्ष पुरा भइसकेको भन्दै नेपालले अब एकै पटक बीएस ६ मापदण्ड लागु गर्ने तयारी गरेको हो ।
‘हामीले लगभग सबै कुरा पुरागरेका छौं । यही महिनाको अन्तिमसम्ममा यसलाई लागु गर्ने निर्णय हुन्छ । त्यसको कार्यान्वयन एक महिना भित्र वा तीन महिनाको समय दिएर गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’, प्रदुषण मापदण्ड निर्धारण कमिटिका सदस्य सचिव नविन पोखरेलले मेरोअटोसँग भने ।
पोखरेलका अनुसार ठूला कमर्शियल गाडी र मोटरसाइकलको हकमा आयातकर्ता कम्पनीहरुले केही समय थप मागेकाले त्यसमा के गर्ने भन्ने विषयमा छलफल हुँदैछ । यद्यपी निश्चित समय दिएर ती सवारी साधनलाई पनि नेपाल प्रदुषण मापदण्ड अनुसार आयात गर्नु पर्ने व्यवस्था गर्न वातारण मन्त्रालय लागि परेको छ ।
नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले पनि नयाँ प्रदुषण मापदण्ड लागु गर्ने विषयमा आफुहरुको विरोध नभएको जनाएको छ ।
‘नयाँ प्रदुषण मापदण्ड लागु गर्ने विषयमा हाम्रो विरोध होइन । तर, सरोकारवाला सबै पक्षसँग छलफल गरेर निश्चित समय दिनु पर्छ भन्ने हो’, नाडाको वातावरण समितिका सभापति राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।
श्रेष्ठका अनुसार अहिलेको अफ्ठ्यारो समयमा सबै साधनको मापदण्ड बढाउँदा सवारी साधन महंगो पर्न जाने र त्यसले उपभोक्तालाई गाह्रो बनाउने छ ।
सरकारले यही भदौ वा कार्तिक भित्रै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउनेगरी काम गरिरहेको छ । नेपाल सरकारले बनाउने नयाँ प्रदुषण मापदण्ड भारतको बीएस ६ र यूरोपको यूरो ६ सो–सरह हुनेछ ।


