स्कोडा कुशक, हुन्डाई क्रेटा र किया सेल्टोसको सुरुवाती भेरियन्टको मूल्य र साइज

काठमाडौं । स्कोडा कुशकको मूल्य सार्वजनिक गर्ने तयारी भइरहेको छ । मेरोअटोलाई प्राप्त जानकारी अनुसार कुशकको सुरुवाती भेरियन्ट एक्टीभको मूल्य ४९ लाख ९० हजार हुने छ ।

हुन्डाई र कियाले भारतमा विक्री हुने क्रेटा र सेल्टोसको सुरुवाती भेरियन्ट नेपाल ल्याएका छैनन् । अहिले नेपालमा विक्री भइरहेको क्रेटा एस भेरियन्टको मूल्य ५३ लाख ९६ हजार र किया सेल्टोस एचटीके प्लस भेरियन्टको मूल्य ५३ लाख ४० हजार रुपैयाँ रहेको छ । यी तीनवटै ब्राण्डको भारतको मूल्यभने फरक देखिन्छ ।

भारतको एक्स शोरुम मूल्यमा पनि सबैभन्दा सस्तो स्कोडा कुशक नै रहेको छ । यसलाई दिल्लीमा १० लाख ४९ हजार भारतीय रुपैयाँ तोकेर विक्री सुरु भएको छ । किया सेल्टोस एचटीके प्लस भेरियन्टको मूल्य ११ लाख ७९ हजार रहेको छ भने हुन्डाई क्रेटा एस भेरियन्टको मूल्य १२ लाख १९ हजार रुपैयाँ रहेको छ ।

इन्जिनको कुरा गर्दा स्कोडामा ९९९ सीसी क्षमताको थ्रि सिलिण्डर, टिएसआई इन्जिन प्रयोग भएको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा ११३.९८ बीएच पावर र १७५० देखि ४५०० आरपीएममा १७८ एनएम टर्क प्रदान गर्छ । टर्बो इन्जिन भएकाले १७५० भन्दा कम आरपीएममा यसको पावर कम हुनेछ ।

हुन्डाई क्रेटा र किया सेल्टोसमा एउटै इन्जिन प्रयोग भएको छ । यी दुबै गाडीमा १४९७ सीसी क्षमताको फोर सिलिण्डर, नेचुरल एस्पायर्ड इन्जिन पाउन सकिन्छ । त्यसैले यी दुबै गाडीको पावर र टर्क पनि एउटै रहेको छ । उक्त इन्जिनले अधिकतम ६३०० आरपीएममा ११३.४२ बीएच पावर र ४५०० आरपीएममा १४४ एनएम टर्क प्रदान गर्छ । यी तीनवटै एसयूभीमा ६ स्पीड म्यानुयल गियरबक्स पाउन सकिन्छ ।

स्कोडा कुशक १ हजार सीसीभन्दा कम क्षमताको गाडी भएकोले यसको अन्तःशुल्क पनि कम लाग्छ भने वार्षिक कर पनि कम तिर्दा पुग्छ । तर, सहरी क्षेत्रमा चलाउदा यसको पर्फमेन्स केही घट्न सक्छ । यद्यपी माइलेज भने बढी आउने छ ।

साइजमा किया सेल्टोस सबैभन्दा लामो छ भने कुशक सबैभन्दा छोटो रहेको छ । सेल्टोसको लम्बाई ४३१५ एमएम, चौडाई १८०० एमएम र उचाई १६४५ एमएम रहेको छ ।

त्यसैगरी क्रेटाको लम्बाई ४३०० एमएम, चौडाई १७९० एमएम र उचाई १६३५ एमएम रहेको छ । त्यस्तै कुशकको लम्बाई ४२२५ एमएम, चौडाई १७६० एमएम र उचाई १६१२ एमएम रहेको छ । ह्वीलवेसमा कुशक अगाडि रहेको छ । यसमा २६५१ एमएमको ह्वीलवेस पाउन सकिन्छ । क्रेटा र सेल्टोसमा समान २६१० एमएमको ह्वीलवेस दिइएको छ । यी तीनवटै एसयूभीको ग्राउन्ड क्लियरेन्स भने लगभग समान रहेको छ ।


Back_to_top