कम सीसीमा फिचर लोडेड मोटरसाइकल खोज्नेलाई यस्ता छन् दुई नयाँ मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । मोटसाइकलको मूल्य त्यसमा दिइएको इन्जिन क्षमताले मात्रै निर्धारण गर्दैन । विशेषत महंगा र लाइफस्टाइल प्रोडक्टमा प्रयोग हुने फिचर दिएका मोटरसाइकलहरुको मूल्य महंगो हुन्छ ।

अहिले नेपाली बजारमा होन्डाले विक्री सुरु गर्न लागेको हर्नेट २.० र बेनेलीले विक्री गर्दै आएको १८० एस प्रिमियम फिचर लोडेड मोटरसाइकल हुन् । यी दुवै मोटरसाइकलमा २०० भन्दा कम सीसी क्षमताको इन्जिन प्रयोग गरिएको छ ।

१८० सीसी सेग्मेन्टका यी दुई मोटरसाइकल यसको फिचरका कारण प्रिमियम सेग्मेन्टमा पर्छन । इन्जिन क्षमताका आधारमा मापन गर्दा यो मोटरसाइकल १६० सीसीदेखी १८० सीसी इन्जिन क्षमता भएका मोटराइकलसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर, यसको प्रिमियमनेसले यसलाई २०० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको छ ।

होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले आफ्नो सामाजिक संजालमा यसको प्रचार प्रसार सुरु गरेसँगै यसको मूल्यलाई लिएर विभिन्न टिका टिप्पणी सुरु भएको छ ।

त्यस्तै नेपाली बजारमा अर्को प्रिमियम मोटरसाइकल निमार्ता कम्पनी बेनेलीले १७५ सीसी इन्जिन क्षमता भएको मोटरसाइकल विक्री गर्दै आएको छ । केही समय अगाडिमात्र नेपालमा सार्वजनिक भएको बेनेली १८० एसमा १८० सीसी इन्जिन क्षमता रहेको छ ।

होन्डा हर्नेट २.० र बेनेली १८० एसबीच प्रतिस्पर्धा हुने देखिन्छ । यी दुवै मोटरसाइकलमा प्रिमियम फिचरहरु उपलब्ध छन् । मूल्यका हिसाबले समेत यी दुई मोटरसाइकल एक अर्काका प्रतिस्पर्धी रहेको छन् ।

सीसी फरक भएता पनि बेनेलीको पावर राम्रो रहेको छ भने होन्डाको टर्क राम्रो रहेको छ । होन्डा हर्नेटल २.० ले १७.३ बीएच पावर जेनेरेट गर्छ भने बेनेलीले १७.५ बीएच पावर जेनेरेट गर्छ । त्यस्तै बेनेलीले १४.५ एनएम टर्क जेनेरेट गर्दा होन्डाले १६.१ एनएम टर्क जेनेरेट गर्छ । होन्डा हर्नेटमा ५ स्पीडको गिरबक्स रहेको छ भने बेनेलीले ६ स्पीडको गियर बक्स दिएको छ ।

त्यसैगरी ब्रेकिङको तुलना गर्दा यी दुवै मोटरसाइकलको दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । होन्डा हर्नेटको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएम को डिस्क उपलब्ध छ । त्यसैगरि बेनेली १८० एसमा २६० एमएमका डबल पिस्टन क्यालीवर ब्रके दिएको छ । होन्डाले एबीएस फिचर दिएको छ भने बेनेलीमा एबीएस फिचरको कमि पक्कै महसुस गर्न सकिन्छ ।

बेनेली १८० एसको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्सपेन्सन रहेको छ भने होन्डाले फ्रन्टमा यूएसडी फर्क दिएको छ । त्यस्तै होन्डको रियरमा मोनोशक सस्पेन्सन नै रहेको छ ।

बेनेली १८० एसमा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । त्यसैगरी यसमा डबल क्यालिपर डबल डिस्क ब्रेक र वेट क्लच प्लेट र १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ । त्यस्तै यसमा सबै लाइटहरु एलइडी दिइएको छ ।

त्यस्तै होन्डा हर्नेटमा कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

होन्डा २.० मा रहेको गोल्डेन यूएसडी फर्क यो सेग्मेन्ट फर्ष्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

स्याकार ट्रेडिङ कम्पनीले होन्डा हर्नेटको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै बेनेलीका लागि नेपालको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनले बेनेली १८० एसको नियोन कलरको मूल्य ४ लाख ४० हजार र रेगुरल कलरको मूल्य ४ लाख ३० हजार निर्धारण गरेको छ ।


Back_to_top