काठमाडौं । मारुती सुजुकीले ब्रेजा लगायत सियाज, आर्टिगा, एस-क्रस र एक्सएल६ को पेट्रोल इन्जिनयुक्त गाडीमा समस्या आएपछि भारतमा रिकल सुरु गरेको छ ।
मारुती सुजुकीले भारतमा १ लाख ८१ हजार ७५४ यूनिट गाडीमा समस्या आएको भन्दै रिकल गरेको हो ।
कम्पनीले सन् २०१८ मे ४ देखि २७ अक्टोबर २०२० सम्म उत्पादन गरेका मोडलमा समस्या देखिएको जनाएको छ । गाडीमा देखिएको समस्याले सुरक्षामा असर पार्न सक्ने भन्दै कम्पनीले गाडीमा रहेको मोटर जेनेरेटर यूनिट परिवर्तन गर्न भनेको हो ।
भारतमा कम्पनीले यसरी आएर मोटर जेनेरेटर परिवर्तन गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने जनाएको छ ।
नेपालमा पनि यस अवधिको गाडी आयात भएको भन्दै आधिकारीक विक्रेता सिजी मोटोकर्पले ग्राहकलाई समस्या देखिए सर्भिस सेन्टर आउन अनुरोध गरेको छ ।
‘हामीले त्यस अवधिको गाडी किन्ने ग्राहकलाई फोन गरेर कुनै समस्या छ वा छैन चेक जाँच गराउन भनेको छौं । समस्या आएको खण्डमा कम्पनीले त्यसको समाधान गर्ने छ । त्यसमा ग्राहकले कुनै खर्च गर्नु पर्दैन’, सिजी मोटोकर्पका मार्केटिङ प्रमुख करुण शाक्यले मेरोअटोसँग भने ।
शाक्यका अनुसार त्यस अवधिमा आयात भएका गाडी किन्ने ग्राहकलाई फोन गरेर समस्याको विषयमा जानकारी दिइरहेको छ ।

