काठमाडाैं । मारुती सुजुकीको सफल सब फोर मिटर एसयूभी भिटारा ब्रेजा र टाटाको चर्चित एसयूभी नेक्सन एक अर्काका प्रतिस्पर्धी मोडल हुन् ।
अहिले नेपाली बजारमा मारुती सुजुकी ब्रेजा सर्वाधिक विक्री हुने सब फोर मिटर एसयूभी हो । टाटा नेक्सन पनि निकै राम्रो संख्यामा विक्री भइरहेको मोडल हो । एउटै सेग्मेन्टमा विक्री हुने यी दुबै गाडी निकै आकर्षक फिचरको साथ उपलब्ध रहेका छन् ।
विशेषत एसयूभी सेग्मेन्टमा दुबै ब्राण्डका सफल मोडलमा परेका ब्रेजा र नेक्सनले ग्राहकको आवश्यकता पुरा गर्न सफल भएको मानिन्छ । यस्तोमा हामीले टाटा नेक्सनको एक्सएम (एस) र ब्रेजाको जेडएक्सआई (प्लस) भेरियन्ट बीचको तुलनात्मक विभिन्नतालाई यहाँ उल्लेख गरेका छौं ।
इन्जिन
टाटाले नेक्सनमा १.२ लिटर, थ्रि सिलिण्डर, टर्बो पेट्रोल इन्जिन दिएको छ । मारुती सुजुकीले भने ब्रेजामा १.५ लिटर, फोर सिलिण्डर नेचुरल्ली एस्पीरेडेड इन्जिन उपलब्ध छ ।
पावरमा टाटा नेक्सन अगाडि छ । टर्बो इन्जिन भएकोले यसले अधिकतम ५५०० आरपीएममा १२० पीएस पावर र १७५० आरपीएममा १७० न्यूटनमिटर टर्क प्रदान गर्छ ।
मारुती सुजुकी ब्रेजामा रहेको इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ पीएस पावर र ४४०० आरपीएममा १३८ न्यूटनमिटर टर्क जेनेरेट गर्छ । यी दुबै गाडीको माइलेज समान जस्तै रहेको छ । भारतीय अटोमोवाइल रिसर्च एजेन्सीका अनुसार यी दुबै गाडीको माइलेज प्रतिलिटर १७ किलोमिटर रहेको छ । तर, सडकमा गुडाउँदा त्योभन्दा कम हुन सक्छ ।
टाटा नेक्सनमा ६ स्पीड गियरबक्स रहेको छ भने, मारुती सुजुकी ब्रेजामा ५ स्पीडको गियरबक्स रहेको छ ।

सुरक्षा फिचर
गाडी किन्ने मानिसले धेरै ध्यान दिने अर्को विषय यसमा उपलब्ध सुरक्षा फिचर हो । मारुती सुजुकी ब्रेजाले ग्लोबल एनक्याप क्रयासटेष्टमा ४ स्टार रेटिङ पाएको छ भने नेक्सनले ५ स्टार रेटिङ पाएको छ ।
दुबै गाडीमा समान दुई एयरव्याग, चाइल्ड सिट एङकर प्वइन्ट, ओभर स्पीर्ड अलर्ट, सिट बेल्ट वार्निङ, एबीएस, इबीडी रहेका छन् । तर, नेक्सनमा ब्रेजामा उपलब्ध नभएका ब्रेक एसिस्ट, इलेक्ट्रीक स्टेविलिटी प्रोग्राम (इएसपी), हिल होल्ड कन्ट्रोल, ट्रायाक्सन कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

सहज यात्राका लागि आवश्यक फिचर
गाडी सुरक्षाको साथै, आफ्नो कार आरामदायी होस् भन्ने धेरैको चाहना हुन्छ । त्यसको लागि गाडी उत्पादकले निकै राम्रा फिचर प्रदान गर्ने गर्छ । त्यसैले ब्रेजाले जेडएक्सआई प्लस भेरियन्टमा अटोमेटीक एसी, फ्यान स्पीड कन्ट्रोल दिएको छ । टाटाले नेक्सन एक्सएम (एस)मा म्यानुयल एसी र सिंगल जोन फ्यान कन्ट्रोल दिएको छ ।
पार्किङ सेन्सर, रिभर्स पार्किङ क्यामेरा, हेडलाइट रिमाइन्डर, स्टेरिङ एड्जस्ट जस्ता समान फिचर भएपनि ब्रेजामा क्रुज कन्ट्रोल र कि लेस स्टार्ट बटम पाउन सकिन्छ ।

एड्जस्टेवल ड्राइभिङ सिट, फेब्रीक सिट दुबै गाडीमा पाउन सकिन्छ भने ब्रेजामा आर्म रेष्ट र नेक्सनमा सनरुफ पाउन सकिन्छ । नेक्सन सनरुफ भएको सबैभन्दा कम मूल्यको एसयूभी हो ।
मूल्य
टाटा नेक्सन एक्सएम (एस) भेरियन्टको मूल्य ४३ लाख ५५ हजार रुपैयाँ रहेको छ भने मारुती सुजुकी ब्रेजा जेडएक्सआई प्लसको मूल्य ४६ लाख १९ हजार रुपैयाँ रहेको छ ।
निष्कर्ष
दुबै गाडी सफल मोडलमा परेका कारण यसलाई डिजाइनको आधारमा छनोट गर्दा ठिक हुन्छ । ब्रेजा बल्की डिजाइनमा छ भने नेक्सन स्पाेर्टी डिजाइनमा उपलब्ध छ । सेफ्टी फिचरमा नेक्सन अगाडि छ भने आरामदायी यात्राको लागि ब्रेजा राम्रो छ । त्यसैले यी दुई मोडल एक अर्काका बलिया प्रतिस्पर्धी हुन् ।

इन्जिनको अनावश्यक आवाज दुबै गाडीको कमजोर पक्ष हो । दुबै कम्पनीको विक्री, सर्भिस र स्पेयर पार्टस्काे सेवा धेरै स्थानमा उपलब्ध गराउँदै आएका छन् । त्यसैले सर्भिसमा आत्तिनु पर्ने अवस्था छैन ।

