काठमाडौं । सरकारले सवारी साधन उत्पादनमा सहयोग गर्ने नीति अनुसार तयारी साधन आयात र एसेम्बल किटको आयातमा एक तहको भन्सार व्यवस्था भएसँगै सवारी साधन उत्पादनको बाटो खुलेको अर्थमन्त्री जनार्दन शर्माले बताए । नाडाका पदाधिकारीसँँगको भेटमा अर्थमन्त्रीले उक्त कुरा भनेका हुन् ।
अर्थमन्त्रीले शर्माले उद्योगले आर्थिक सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेल्ने भएकाले सरकार त्यसमा प्रतिवद्ध भएर लागेको र व्यवसायीले पनि त्यसमा सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
नाडाका उपाध्यक्ष करण चौधरीले सरकारले कार, मोटरसाइकल र सार्वजनिक यातायातका साधन नेपालमा नै एसेम्बल गर्दा अन्तशुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था हुनु स्वागत योग्य रहेको बताउँदै भने, ‘एसेम्बलको विषयमा सरकारले थप प्रस्ट पार्नु पर्ने छ । कति पाटर्समा ल्याउनु पर्ने हो ? कुन पार्टस एसम्बलिङ्ग हो ? सरकारले त्यसको स्पष्ट बर्गिकरण गर्नु पर्छ ।’
छलफलमा नाडाका केन्द्रीय कार्यसमिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको संख्यामा विक्री हुने बताउँदै अहिलेको सेगमेन्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरुमा आर्थिक भार थपिन पुगेकोमा अर्थमन्त्रीलाई त्यसमा सुधार गर्न आग्रह गरेका थिए ।

