कार बजारमै हलचल ल्याउन तयार दुई मोडल, कहिले आउलान् नेपाल ?

काठमाडौं । अहिले विश्वब्यापी चर्चा एसयूभीको हुने गरेको पाइन्छ । कुनै पनि कम्पनीले साना ह्याचव्याक कारको नयाँ मोडल बनाउनै छाडेका छन् भने सबै कम्पनीको ध्यान स्पोर्टस् यूटिलीटी भेहिकल (एसयूभी) उत्पादनमा परेको छ ।

भारतमा कार उत्पादन गर्ने कम्पनीहरुको रोजाईमा पनि ह्याचव्याक र सेडानभन्दा धेरै एसयूभी सेग्मेन्टमा बढ्दै गएको छ । कम्पनीहरुले साना एसयूभी उत्पादनमा निकै जोड दिएको देखिन्छ ।

महिन्द्राले केयूभी १०० बाट सुरु गरेको माइक्रो एसयूभी उत्पादनमा अहिले टाटा र हुन्डाई जस्ता ब्राण्ड प्रबेश गरेका छन् । टाटाले यही सेप्टेम्बरमा बजारमा उतार्ने पन्च र हुन्डाईले कोरियामा उत्पादन सुरु गरेको क्यास्पर अहिले माइक्रो एसयूभी सेग्मेन्टमा सर्वाधिक चर्चामा रहेका मोडल हुन् । यी दुबै मोडल नेपाल आएपछि कार बजारमा नयाँ हलचल पैदा गर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

उत्कृष्ट डिजाइन, लग्जरी इन्टेरियर र कम मूल्य यी माइक्रो एसयूभीका मुख्य आकर्षण हुन् । ग्राहकले बजारमा ह्याचव्याक कारभन्दा धेरै एसयूभी खोज्न थालेपछि उत्पादकले पनि सबै किसिमका बजेटमा पाउन सकिने एसयूभी उत्पादनमा आफुलाई केन्द्रित गर्दै आएका छन् ।

टाटाले उत्पादन गरेको पन्चको मूल्य नेक्सनभन्दा तल राख्ने यसअघि नै जानकारी दिइसकेको छ । थुप्रै आधुनिक फिचरको साथ आउने पन्चले ह्याचव्याक सेग्मेन्टको थप बजार हिस्सा आफ्नो पक्षमा पार्ने अपेक्षा गरिएको छ ।

हुन्डाई क्यास्पर पनि आफ्नो भेन्यूभन्दा कम मूल्यमा आउने छ । यसलाई धेरैले हुन्डाईको बजार विस्तारमा नयाँ हतियारकोरुपमा विष्लेषण गरिरहेका छन् । विशेषत आफ्नै ग्राण्ड आई १०, मारुती सुजुकी स्वीफ्ट र फक्सवागेन पोलो किन्न चाहने ग्राहकलाई एसयूभीमा प्रेरित गर्न क्यास्पर बजारमा आउने छ ।

दुई मोडललाई थप चुनौती

अहिले बजारमा कम मूल्यका सब फोर मिटर एसयूभीकोरुपमा विक्री हुँदै आएको निसान म्याग्नाइट र रेनो काइगरलाई यी दुई मोडल चुनौती हुने देखिन्छ । साइजमा यी दुबै गाडी क्यास्पर र पन्चभन्दा ठूलो हुने छन् । तर, आधुनिक फिचरमा यी दुबै गाडी अब्बल हुनसक्ने देखिएको छ ।

अझ टाटाले पन्चको साइज पनि करिब १०० एमएम मात्रै छोटो राखेको र बल्की डिजाइनमा तयार गरेकोले बजारमा कडा प्रतिस्पर्धाहुने अनुमान गर्न सकिन्छ ।

कहिले आउलान् पन्च र क्यास्पर

टाटा पन्च यही सेप्टेम्बर महिनाको अन्तिमसम्ममा बजारमा आउने अपेक्षा गरिएको छ । संभवत नोभेम्बर महिनाबाट पन्च नेपाली बजारमा उपलब्ध हुनेछ ।

हुन्डाई क्यास्पर कोरियामा उत्पादन भइरहेको छ । तर, भारतीय बजारमा उत्पादन भएपछि मात्रै यो नेपाल आउने अपेक्षा गरिएको छ । संभवत सन् २०२२ को दोस्रो क्वाटरसम्ममा क्यास्पर नेपाल आउन सक्ने छ ।


Back_to_top